राजनीति

हारेपछिका कमल थापा : मुसा प्रवृतिको सम्झना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १९ गते २०:४४
हारेपछिका कमल थापा : मुसा प्रवृतिको सम्झना (भिडियो रिपोर्टसहित)

१९ मंसिर २०७८ काठमाडौं । पार्टी अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले आफ्नो पराजयको कारक पूर्वराजा ज्ञानेन्द्र भएको आरोप लगाउनु भएको छ । थापाले पार्टीमा गुम्दै गएको साखलाई राजनीतिमा सक्रिय नदेखिएको पूर्व राजपरिवारसँग जोडेर ढाकछोप गर्ने अभिव्यक्तिलाई भने धेरैले हतास मानसकिताको उपजका रुपमा लिएका छन् ।

पार्टी अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले आफ्नो पराजयको दोष पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिनुभयो । १५ वर्षदेखि राजसंस्था पुनर्स्थापनाको मुद्दा आफूले बोकेर हिँडेको तर पार्टी अध्यक्षमा भने राजेन्द्र लिङ्देनले बाजी मारेको भन्दै थापाले यस्तो आक्रोश पोख्नुभयो । पराजय स्वीकार्छु भनेर सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिमा थापाले पूर्व राजा ज्ञानेन्द्रलाई चलखेल गरेको मात्र होइन नाङ्गो हस्तक्षेप नै गरेको आरोप लगाउनु भयो । थापा यतिमै रोकिनु भएन ।

उहाँले आफ्नो पराजयलाई राजसंस्था पुनर्स्थापना एजेण्डाको संवाहकलाई समाप्त पार्न खोजिएको रुपमा विश्लेषण गर्दै अब आफूले राहत र उन्मुक्ति नै पाएको बताउनुभयो । नेपाली राजनीतिमा ‘मुसा प्रवृत्ति’को उपमा पाएका थापाले आफू फेरि पनि अध्यक्ष पदमा विराजमान हुन नसकेपछि आजसम्मको राजनीति, विचार र व्यक्तित्वलाई नै रछ्यानमा मिल्क्याएर तल्लोस्तरको अभिव्यक्ति दिन हिचकिचाउनु भएन ।

हुन त उहाँको राजनीतिक व्यक्तित्व र विचारको कुनै स्थायी ठेगाना छैन । राजसंस्थाका सदैव अनुयायी भए पनि हरेक व्यवस्थामा उहाँले राजनीतिक लाभ लिइरहनु भएको छ ।

बहुदल स्थापनाका लागि भएको २०४६ र ६२–६३ को दोस्रो जनआन्दोलन दबाउनदेखि त्यसपछि स्थापना भएको संघीयता, धर्म निरपेक्षता र लोकतन्त्रलाई नै समाप्त पारी पूनः राजतन्त्र नै स्थापित गराउने भूमिकामा सबैभन्दा सक्रिय थापा त्यसपछि पनि निरन्तर सत्ताको वरिपरि नै रहनुभयो । संविधानमार्फत संस्थागत भएको गणतन्त्र मान्दिन भन्ने र त्यही गणतन्त्रमा सत्ताको रसमा डुबुल्की मार्ने थापा राजनीतिका अलौकिक खेलाडी हुनुहुन्छ ।

राजालाई फालेर संविधान निर्माणमा जुटेका दलहरु पहिलो संविधानसभाबाट संविधान दिन असफल भएपछि गणतन्त्रप्रति आमरुपमा बढेको नैरास्यको फाइदा उठाउँदै राप्रपा संसदको चौथो दल बन्न सफल भयो । संविधान निर्माणपछि बनेको केपी ओली नेतृत्वको गठबन्धन सरकारमा थापाले राम्रै भाग लिएर उपप्रधानमन्त्री पदको रसपान गर्नुभयो ।

गणतन्त्र, धर्म रिपेक्षता जस्ता कुराहरुलाई प्रस्तावनामै राखेको संविधान स्वीकार गरेर सत्ताभोग पनि गर्ने र राजतन्त्रसहितको सनातन हिन्दु राज्यको अभियान चलाएर पार्टी अध्यक्ष पनि भइरहने थापा प्रवृत्ति पछिल्लो निर्वाचनमा संसद र पार्टी दुवैमा कमजोर बन्दै गयो ।

अघिल्लो पटक २५ सांसद लिएर संसद भवन बानेश्वर छिरेको राप्रपा संविधान कार्यान्वयनपछिको निर्वाचनमा एक सिटमा खुम्चिनु प¥यो । एमालेको सहयोगमा त्यही एक सिट बचाउने राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्ष पद जित्दा कमल थापाले आफू हारेको नभई मुलुकले विर्सिसकेको राजसंस्थाले नाङ्गो हस्तक्षेप गरेको र आफूलाई समाप्त पार्न खोजेको ढ्यांग्रो पिट्न लजाउनु भएन ।

थापाले पार्टी अध्यक्षमा भएको पराजय स्वीकार्न नसक्नु सामान्य नै मानिए पनि आफ्नो पराजयमा पूर्व राजालाई दोष दिनु चाँहि आश्चर्यजनक देखिएको छ । पराजयको कारण निर्मल निवास नै भएकाले यो स्तरको आक्रोश व्यक्त गर्नुभएको मात्रै हो वा पूर्व राजपरिवार राजनीतिमा थापाले भनेजत्तिकै सक्रिय नै हो त भन्ने प्रश्नहरु पनि उब्जिएका छन् ।

आफ्नो हारमा कोही पनि खुसी हुन सक्दैन । त्यसैले जितका लागि साम, दाम, दण्ड, भेद सबै अपनाउने प्रवृत्ति नेपालमा सामान्य नै छ । पार्टीकै चुनाव होस् वा आमनिर्वाचन जित्न अनि सत्ता हात पार्न कुन हदसम्मको विचलनमा नेताहरु पुग्छन् भन्ने उदाहरणका लागि कहीं कतै जानुपर्दैन । यो चुनावमा थापाले त्यति नगरे पनि पराजित भएपछि सहर्ष स्वीकार गर्ने कुरै भएन ।

पार्टीको संस्थापन पक्षका रुपमा महाधिवेशनको नेतृत्व गर्दा मनलाग्दी प्रतिनिधिहरु थपेको आरोप खेपेका थापा आफ्नो पराजयलाई पार्टीमा बढेको आफूप्रतिको अविश्वासका रुपमा नलिइ कुनै अमुक संस्थालाई दोष दिने प्रवृत्ति उद्देक लाग्दो छ । कमल थापाको यो चित्कार उहाँका लागि हार भूलाउने अस्त्र बने पनि यस्तो अभिव्यक्ति र प्रवृत्तिले व्यक्तित्वको बस्त्र फुकालिँदै गएको चाँहि उहाँले हेक्का राख्नुपर्ने थियो कि ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्