Main News

शुरु भयो बाघ गणना, कसरी गरिँदैछ गणना ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १९ गते १८:३७
शुरु भयो बाघ गणना, कसरी गरिँदैछ गणना ? (भिडियो रिपोर्टसहित)

१९ मंसिर २०७८ चितवन । राष्ट्रिय बाघ गणना अभियान आज शुरू भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरबाट बाघ गणना थालिएको हो ।

बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । नेपालमा बाघ रहेका राष्ट्रिय वन क्षेत्र, जैविक मार्ग तथा वरपरका वन क्षेत्रलाई चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी क्षेत्र गरी तीन वटा कम्प्लेक्समा विभाजन गरिएको छ ।

गणनामा करिब एक हजार वटा स्वचालित क्यामरा प्रयोग गरिनेछ । चितवन–पर्सा कम्प्लेक्समा मात्रै करिब आठ सय वटा क्यामरा प्रयोग हुनेछ । एक ठाउँमा एक जोडी क्यामरा राखिन्छ । कम्तिमा १५ दिनसम्म क्यामरालाई एक ठाउँमा राखिने छ ।

बाघ सर्वेक्षणमा क्यामेरा ट्रयाप, सुन्टो कम्पास, रेञ्ज फाईन्डर, जीपीएस, रेकर्ड फर्मलगायतका सामग्री प्रयोग गरि क्यामेरा ट्रयापिङ अकुपेन्सी सर्भे विधिबाट बाघ सर्वेक्षण हुनेछ ।

स्वचालित क्यामरा राखिएको ठाउँबाट पाटेबाघ हिड्दा क्यामराले उसको दुबैतर्फको फोटो खिच्ने गर्छ । बाघ सर्वेक्षणका लागि चितवन–पर्सा कम्प्लेक्समा १ सय ६ जना प्राविधिक परिचालन गरिएको छ ।

उनीहरुले एउटा ब्लकमा १५ दिनसम्म सर्वेक्षण गर्नेछन । नेपालभर सर्वेक्षणमा २ सय भन्दा बढी प्राविधिक खटिने छन । सर्वेक्षणको क्रममा चितवन–पर्सा कम्प्लेक्समा ७ तथा बाँके–बर्दिया र शुक्लाफाँटा कम्प्लेक्समा ३र३ वटा हात्ती प्रयोग गरिनेछ ।

बाघ सर्वेक्षणको सम्पूर्ण कार्य सम्पन्न गर्न ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विगतका वर्षमा सहयोगी संस्थाको आर्थिक सहयोगमा मात्रै सर्वेक्षण हुँदै आएकोमा यसपटक सरकारले नै बजेट विनियोजन गरेको छ ।

नेपालमा सन् २००९ देखि बाघ सर्वेक्षण सुरु गरिएको हो । त्यसबेला नेपालमा १ सय २१ वटा बाघ थिए भने चितवनमा मात्रै ९१ वटा बाघ थिए । २०१३ मा नेपालमा १ सय ९८ वटा बाघ रहेकोमा चितवनमा १ सय २० वटा थिए ।

सन २०१८ मा गरिएको सर्वेक्षणमा नेपालमा २ सय ३५ वटा बाघ रहेका छन् । जसमध्ये चितवनमा मात्रै ९३ वटा बाघ छन । सरकारले सन २०१० मा रुसको सेन्टपिटर्सबर्गमा भएको बाघसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सन २०२२ भित्रमा बाघको संख्या दोब्बर अर्थात् २ सय ५० वटा पुर्याउने प्रतिवद्धता जनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *