कांग्रेसमा युवा पुस्ताः कान्छी उम्मेदवार डा. अलविरा खान (भिडियो रिपोर्टसहित)
१८ मंसिर २०७८ बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रथम प्रदेश अधिवेशनमा युवा पुस्ताले पनि उम्मेदवारी दिएका छन् ।
लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको शनिबार मतदान भएको छ । यसमा युवापुस्ता पनि उम्मेदार बनेर चुनावी मैदानमा उत्रिए । नेपाली कांग्रसकी कान्छी उम्मेदवार डा. अलविरा खान यही प्रदेशबाट उम्मेदवार हुनुभएको छ ।
२४ वर्षिया डा. अलविरा खान कार्ड बाँड्न ब्यस्तहुनुहुन्थ्यो । मंसिर महिनामा बाँडिएको कार्ड कुनै विवाह तथा पार्टीको भने थिएन । एमबीबीएस उत्तीर्ण खानले नेपाली कांग्रेसको प्रथम लुम्बिनी अधिवेशनमा सदस्यका लागि भोट माग्नका लागि कार्ड बाड्नु भएको हो ।
भैरहवास्थित महेन्द्र सभा गृहमा जम्मा भएका प्रतिनिधिसमक्ष उहाँले आफ्नो परिचय दिँदै मुस्लिम महिलातर्फको उम्मेदवार भएको जानकारी दिनुभयो । कपिलवस्तुकी अलिविरा प्रदेश अधिवेशनमा भोट माग्ने कान्छी उम्मेदवार हुनुहुन्छ ।
आफ्नो बाबुको प्रेरणााले कांग्रेसमा लागेकी अलविरालाई बिरामीको सेवा गर्दै राजनीति गर्ने इच्छा छ । मुस्लिम, मधेशी, पिछडिएको समुदायको आवाज बन्दै उनीहरुको जीवनस्तर उकास्न पहल गर्ने अलविराको योजना छ ।
युवा पुस्ता राजनीतिमा आकर्षित नभइरहेका बेला कांग्रेसको महाधिवेशनमा भने युवा पुस्ताले बलियो उपस्थिति देखाएको छ । लुम्बिनी प्रदेश सभापतिमा संस्थापन पक्षका रुपन्देहीका भरतकुमार शाह र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट रोल्पाका अमर सिंह पुन चुनावी मैदानमा उत्रिनु भएको छ । निर्वाचनमा जसले जिते पनि पार्टीलाई प्रदेशमा गुटबन्दीबाट अन्त्य गर्नु पर्ने कार्यकर्ताको माग छ ।
१२ जिल्ला रहेको प्रदेशमा जिल्ला अधिवेशनमा पौडेल पक्ष बलियो देखिएको छ । अधिवेशमा ८ पदाधिकारी सहित ६९ जना सदस्यको निर्वाचन भएको हो । अब कांग्रेस लुम्बिनीको नेतृत्व कसले गर्ला र अलविराको राजनीतिक भविष्य के होला मतगणना पछि थाहा हुनेछ ।
प्रतिक्रिया