कांग्रेस प्रदेश अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु (भिडियो रिपोर्टसहित)
१७ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रवार प्रदेशसभाको निर्वाचन सुरु भएको छ । प्रदेश सभाको निर्वाचनमा मिश्रित समीकरण बनेको छ । कतै देउवा–सिटौला मिलेर उम्मेदवारी दिएका छन् त कतै देउवा – पौडेल – सिटौला समूहबीच त्रिपक्षीय भिडन्त हुने पक्का छ ।
प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेपाली कांग्रेसको अधिवेशन जारी छ । शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनय दर्ता गराएका छन् । प्रदेश नम्बर एकमा संस्थापन पक्ष र सिटौला पक्षका बीचमा सहकार्य भएको छ भने विभिन्न गुटमा विभाजित पौडेल समूहले पनि आफ्नो पक्षबाट सहमतिमै उम्मेदवारी दिएको छ ।
प्रदेश नम्बर एकको सभापतिमा पौडेल समूहबाट गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ भने संस्थापनबाट उद्धव थापा प्रतिष्पर्धामा उत्रिनुभएको छ । थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिनुहुन्छ । केन्द्रमा सहकार्य भएपछि देउवाले प्रदेश एकको सभापतिमा सिटौला पक्षका उम्मेदवारलाई साथ दिनु भएको हो ।
त्यस्तै प्रदेश दुईमा भने केन्द्रीय महाधिवेशन पछि मात्रै प्रदेशसभा अधिवेशन हुने छ । यो प्रदेशका केही जिल्लामा विवाद उत्पन्न भएपछि प्रदेश क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन । त्यस्तै बाग्मती प्रदेशमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएकोछ ।
यो प्रदेशमा संस्थापनबाट इन्द्र बाँनिया उम्मेदवार बन्दा पौडेल पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भिमसेनदास प्रधानले उम्मेदवारी दिनुभएकोछ । गण्डकी प्रदेशमा पनि संस्थापन र संस्थापन इतरबीचमै प्रतिस्पर्धा हुनेछ । संस्थापनबाट अर्जुन जोशीले उम्मेदवारी दिँदा इतरबाट शुक्रराज शर्माले उम्मेदवारी दिनु भएको छ ।
त्यस्तै लुम्बिनीमा भने संस्थापन र संस्थापन इतरबीच दुई पक्षीय भिडन्त हुने भएको छ । यो प्रदेशमा संस्थापनबाट भरतकुमार शाह र इतरबाट अमर पुनले उम्मेदवारी दिनु भएको छ । कर्णाली प्रदेशमा संस्थापनबाट ललितजंग शाहीले उम्मेदवारी दिनु भएको छ भने संस्थापन इतरबाट भुपेन्द्रजंग शाहीले उम्मेदवारी दिनु भएको छ ।
उता, सुदुरपश्चिम प्रदेशमा संस्थापन इतर पक्षबाट नारायण मिश्र उम्मेदवार बन्नु भएको छ भने संस्थापनबाट वीरबहादुर बलायरले उम्मेदवारी दिनु भएको छ ।
प्रदेशसभाको सभापतिको उम्मेदवार बन्ने आकाँक्षी धेरै भएपछि दुवै पक्षलाई उम्मेदवार छान्न कठिन भएको थियो । सोही कारण प्रदेशसभा अधिवेशनको कार्यतालिका परिवर्तन गर्दै १६ गते उद्घाटन र १७ गतेका लागि मनोनय दर्ता का साथै १८ गते मतदान गर्ने कार्यतालिका बनाइएको थियो ।
पूर्वनिर्धारित कार्यतालिका अनुसार मंसिर १६ र १७ गते प्रदेशसभाको अधिवेशन गर्ने भनिएको थियो । प्रदेश अधिवेशन सकिएपछि कांग्रेस १४औँ महाधिवेशनमा केन्द्रित हुनेछ । बाँकी रहेका १६ जिल्ला र प्रदेश २ को अधिवेशन महाधिवेशन पछि मात्र गर्ने कांग्रेसको तयारी छ ।
प्रतिक्रिया