राप्रपा एकता महाधिवेशनअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदै
१७ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन अन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ।
बिहान साढे ७ बजेदेखि मनोनयन दर्ताको कार्यक्रम तय गरिएको छ । त्यसपछि दावी विरोध, उम्मेदवारको अन्तिम सूची प्रकाशित लगायतका तयारी गरेर भोलि मात्रै मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
काठमाडौंमा गत बुधबारदेखि जारी महाधिवेशन प्रतिनिधिको विवादका कारण एक दिन लम्बिने भएको छ । राप्रपा महाधिवेशनका निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिनेले १ लाख रुपैयाँ दरखास्त दस्तुत तिर्नुपर्नेछ।
त्यस्तै केन्द्रीय उपाध्यक्षका उम्मेदवारले ७५ हजार, महामन्त्रीका उम्मेदवारले ५० हजार, केन्द्रीय सदस्यका उम्मेदवारले १५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था छ।
पार्टीको निर्णयानुसार केन्द्रीय निर्वाचन समितिले तोकेको शुल्क लिएर मात्र उम्मेदवारी दर्ता गर्नेछ। महाधिवेशन स्रोत व्यवस्थापन समितिका एक सदस्यका अनुसार उम्मेदवारी दर्ताबाट मात्रै पार्टीले कम्तीमा ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।
राप्रपा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्नु भएको छ । महाधिवेशनले १ सय ९९ जना केन्द्रीय कार्यसमिति चयन गर्नेछ।
प्रतिक्रिया