Political Hightlights

कांग्रेस प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया शुरु

हिमालय टिभी
२०७८ मंसिर १७ गते ९:०१
कांग्रेस प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया शुरु

१७ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशको नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शुरु भएको छ।

हिजो शुरु भएको अधिवेशनअन्तर्गत प्रदेशहरुमा आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ। कांग्रेसले पहिलोपटक सातै प्रदेशको नेतृत्व चयन गर्न लागेको हो।

प्रदेश नेतृत्व चयनका लागि प्रदेश २ बाहेका अन्य प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। प्रदेश २ को अधिवेशन भने महाधिवेशन पछि हुनेछ। सबै प्रदेशमा पार्टीभित्रको गुटअनुसार नै प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेशमा कांग्रेसको संस्थापन पक्ष, संस्थापन इतर पक्ष र तेस्रो धारका बीच प्रतिस्पर्धा हुने देखिएको छ।

कांग्रेस प्रदेश अधिवेशनमा प्रदेश १ मा पार्टी सभापति देउवाले नेतृत्व गरेको संस्थापन समूह र तेस्रो धार भनिएका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समूहबीच सहकार्य हुने सम्भावना छ । त्यहाँ सिटौला समूहले उद्धव थापालाई उम्मेदवार बनाएको छ । संस्थापन इतर समूहले गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।

बाग्मती प्रदेशमा संस्थापन पक्षबाट इन्द्र बानियाँ, संस्थापन इतरतर्फबाट जगदीशनरसिंह केसी र सिटौला समूहबाट भीमसेनदास प्रधानबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ । गण्डकीमा आकांक्षी धेरै देखिएका छन् । लुम्बिनीमा पार्टीभित्रका दुईवटा पक्षले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका छन् ।

संस्थापन पक्षबाट भरतकुमार शाह र संस्थापन इतर पक्षबाट रोल्पाका नेता अमर पुनले उम्मेदवारी घोषणा गर्नु भएको छ । कर्णाली प्रदेश सभापतिमा संस्थापन समूहले राजीवविक्रम शाहलाई सभापतिको उम्मेदवार बनाउने भएको छ भने संस्थापनइतर समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने तय भइसकेको छ ।

सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा संस्थापन समूहबीच नै प्रतिस्पर्धा हुने भएको छ । ६ वटा प्रदेशमा गरी कुल ८ हजार ४ सय ६७ प्रतिनिधिहरूले महाधिवेशनमा भाग लिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *