राजनीति

एमाले महाधिवेशन : सर्वसम्मतिका नाममा यस्तो जबरजस्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १२ गते २०:३३
एमाले महाधिवेशन :  सर्वसम्मतिका नाममा यस्तो जबरजस्ती (भिडियो रिपोर्टसहित)

१२ मंसिर २०७८ काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेमा सर्वसम्मतिको नाममा जबरजस्ती नेतृत्व घोषणा गर्न लागिएको छ । आफूलाई लोकतान्त्रिक पार्टी भन्ने एमालेले सबैजसो निर्णय अध्यक्ष केपी ओलीकै निगाहामा गर्दै आएकोमा यसपटक केन्द्रीय नेतृत्व पनि ओलीकै तजबिजीमा चयन गर्न लागेको छ ।

अहिले एमालेजनमा एउटा रटान छ, ‘निर्वाचन मात्रै लोकतान्त्रिक प्रक्रिया होइन, सर्वसम्मति पनि लोकतान्त्रिक प्रक्रिया हो ।’ नवौँ महाधिवेशनमा लोकप्रिय मत प्राप्त गरी उपाध्यक्ष पदमा विजयी भएका भीम रावलले दशौँ महाधिवेशनका लागि अध्यक्ष पदमा दाबी गरेपछि किन निर्वाचन नगर्ने ? भन्ने प्रश्नमा एमालेका नेताहरुले दिने लोकतन्त्रको परिभाषा हो यो ।

चितवनमा भव्य उत्सवसहित सुरु भएको एमालेको दशौँ महाधिवेशन सर्वसम्मतिका नाममा अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेर टुंग्याउँदै गर्दा एमालेमा लोकतन्त्रको स्खलनबारे चासो बढेको हो । आफूलाई लोकतान्त्रिक पार्टी भनेर नथाक्ने एमालेले पार्टीभित्र फरक मत राख्नेहरुको मुख बन्द गर्न सम्पूर्ण शक्ति खर्च गरिरहेको छ ।

पार्टीलाई सत्ताबाट सडकमा पु¥याएका र फरक मत राख्ने कार्यकर्ताहरुको चिरहरण गर्दै पार्टीलाई क्षतविक्षत बनाएका अध्यक्ष ओलीले गोदावरी महाधिवेशनबाटै लोकतान्त्रिक अभ्यासलाई तिलाञ्जली दिइसक्नु भएको थियो । चितवनमा ५ लाख कार्यकर्ता बोलाएर ओलीको देवत्व अनुमोदन गर्नु एमालेको उद्देश्य थियो ।

सामान्य बुझाईमा महाधिवेशन भनेको पार्टीमा नीति, विधि र पद्दतिका साथै विचार र सिद्धान्तहरुलाई साक्षात्कार गराउने स्थल हो । महाधिवेशनका बन्दसत्रहरु पार्टी जीवनका हरेक राम्रा र नराम्रा पक्षहरु केलाउने मञ्च हुन् । नेतृत्वका कमी–कमजोरीदेखि सवल पक्षहरुको समीक्षा गर्ने ठाउँ हो । नेतृत्वका आकांक्षीहरुले क्षमता र योग्यता प्रदर्शन गर्ने, आफ्नो कार्यकालमा भएका कमजोरीहरुमा आत्मआलोचना गर्नेदेखि भविस्यका योजनाहरु सुनाउने थलो हो ।

खासमा बन्दसत्र नै पार्टीको आन्तरिक जीवनबारे बहस गर्ने सबैभन्दा खुल्ला थलो हो । त्यसैले पनि यो मञ्चमा पार्टीको आन्तरिक विषयसँग नजोडिएकालाई छेकबार गरिन्छ र बन्दसत्रको नामले पुकारिन्छ । यही थलोमा नेकपा एमालेले अन्य प्रतिनिधि र आलोचक नेताहरुको मुख थुनेर अध्यक्ष ओलीलाई घण्टौँ आफ्नो बखान गर्ने समय दियो ।

संसद विघटन र पार्टी विभाजनपछिका सबैजसो दिन गाली पुराण वाचन गरिरहनुभएका ओलीले बन्दसत्रमा पनि यो क्रम चालु राख्नु भयो । उद्घाटनका क्रममा नारायणी किनारमा पनि ओलीले आफ्नो बखान गर्नुभएकै हो र सरकारदेखि आफ्ना प्रतिस्पर्धीहरुलाई गाली गर्नुभएकै हो ।

नवौँ महाधिवेशनबाट चुनिएको नेतृत्व बिदा भइसकेर अध्यक्ष मण्डलले सहजीकरण गर्ने कार्यक्रममा पनि ओलीले धर्मगुरुजस्तो एकोहोरो उपदेश र आदेश दिइरहनु भयो । उपस्थित २ हजारबढी प्रतिनिधिले पूर्वनिर्देशित थपडी बजान गरिरहे । फरक मत राख्नेहरुलाई यो हल हिरासत जस्तो बन्यो ।

यो कार्यक्रममा किन दुई तिहाई मत प्राप्त गर्दा पनि पार्टी प्रतिपक्षमा पुग्यो भनेर कसैले प्रश्न उठाएन, ठूला वामशक्तिबीचको एकता किन जोगिएन भनेर कसैले सोध्न सकेन, एमालेमा फरक मत र विचार राख्नेहरु किन फुटेर गए भन्ने जिज्ञासा कसैको ओठसम्म आइपुगेन । खाली केपी बाको रटान लगाउन र थपडी बजाउने बाहेक २ हजार बढी प्रतिनिधिको भूमिका सौराहको चिसोमा मासुभात खाने, सेल्फी खिच्ने र सर्वसम्मतिको फर्मुला रट्नमा सीमित बन्यो ।

यसरी नेतृत्वको चेपुवामा परेका एमाले कार्यकर्ताले आगामी आम निर्वाचनहरुमा बहुमत ल्याउने र पार्टी फेरि सरकारमा जाने सपना देखेका छन् । उनीहरुलाई यही सपनाको ललिपप देखाएर एमालेले सर्वसम्मतिको नाममा प्रतिनिधिहरुको अभिव्यक्ति स्वतन्त्रता नारायाणीमा बगाइदिएको छ । गोप्य मतदान गर्न पाउने सर्वस्वीकार्य पद्दतिको चिरहरण गरिदिएको छ ।

ओलीकै दम्भले भत्किएको नेकपा, ओली आडम्बरले गुमेको केन्द्रदेखि प्रदेशसम्मको सत्ता अनि ओली प्रवृत्तिले भएको पार्टी विभाजनको वास्तविकतालाई छलकपट र भ्रमपूर्ण प्रचारबाजीबाट सही सावित गर्न खोजिएको छ ।

वाक चातुर्यका अगाडि नतमस्तक बनेका लाखौँ एमालेजन अहिले ओलीलाई साक्षात देवता मानेर देवताको अगाडि कुनै माग राख्नुहुन्न, देवताले जे दिन्छन् चुपचाप स्वीकार्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छन् । यो प्रवृत्तिले एमालेलाई क्षणिक बलियो त बनाउला तर नेतृत्वको अधिनायकवादी चरित्रले पार्टीभित्रको लोकतन्त्र भने सदाको लागि राप्तीमा सेलाउने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्