महाधिवेशनमा ओली मन्तव्य : आफ्नाे प्रशंसा, परस्पर दलको आलोचना (भिडियो रिपोर्टसहित)
१० मंसिर २०७८ चितवन । पछिल्लो समय सार्वजनिक कार्यक्रमहरुमा आफू र आफ्नो प्रशंसा र परस्पर दलको आलोचनामा अत्यधिक समय खर्चने गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा शुरु पार्टीको दशौं महाधिवेशनको उद्घाटनसत्रमा पनि सोही शैली दोहोर्याउनु भएको छ । ओलीले महाधिवेशन उद्घाटन समारोहमा गरेको सम्बोधन कुनै चुनावी भाषण भन्दा कम भएन ।
नेकपा एमालेका अध्यक्ष ओलीले सम्बोधनको अधिकांश समय आफू र आफ्नो दलको प्रशंसामा खर्चनु भयो । सम्पन्न भएका र जारी विकासका अधिकांश कामको जस लिएका ओलीले आगामी निर्वाचनमा पार्टीले एकल बहुमत हासिल गर्ने दाबी गर्नुभयो ।
आफूहरु चुनावको तयारीमा लागिसकेको भन्दै अध्यक्ष ओलीले फेरि एमालेको सरकार बन्ने र विकासको बाँकी काम पूरा गर्ने दाबी गर्नुभयो । ५ बर्षका लागि मार्ग निर्देश र देशलाई हाक्ने गरी महाधिवेशनमार्फत् नेकपा एमाले अगाडि आउने भन्दै अध्यक्ष ओलीले स(साना अन्तरबिरोधमा नअल्झिए राष्ट्र निर्माणका लागि एकताबद्ध हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । सम्बोधनमा प्रधानमन्त्री शेरवहादुर देउवाप्रति नरम देखिएका ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति भने कटाक्ष गर्न छुटाउनु भएन ।
शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउन नसकेको भनी माओवादी अध्यक्ष प्रचण्डको चर्को आलोचना गरेका ओलीले बहिर्गमित लडाकुको व्यवस्थापन अब आफ्नो पार्टीले गर्ने जिकिर गर्नुभयो ।
जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्षहरु समेत उपस्थित उद्घाटन समारोहमा अध्यक्ष ओलीले आवश्यक्ता हेरी संविधान संशोधन गर्न सकिने आश्वासन दिनुभयो ।
ओलीले छिमेकी मुलुकसँगको सीमा विवादको बिषय समेत उठान गर्नुभयो । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका क्षेत्र नक्सा छापेर मात्र फिर्ता नहुने कुराको स्वीकारोक्ति पेश गर्नुभयो ।
मूलभूत रुपमा देशमा राजनीतिक समस्या नभएको भन्दै अध्यक्ष ओलीले अब शान्तिपूर्ण अवस्था कायम राख्दै समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा पूरा गर्नुपर्ने दोहोर्याउनुभयो ।
प्रतिक्रिया