Main News

एमाले महाधिवेशन आज उद्घाटन हुँदै, यस्तो छ तयारी

हिमालय टिभी
२०७८ मंसिर १० गते ८:२९
एमाले महाधिवेशन आज उद्घाटन हुँदै, यस्तो छ तयारी

१० मंसिर २०७८ चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । नारायणी नदी किनारमा महाधिवेशनको मध्यान्ह १२ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ ।

त्यसअघि चितवनको आँपटारी, बसपार्क, पुल्चोक, चौबीसकोठीसहित करिव ८ स्थानबाट ¥याली निकालिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिसहित करिब ५ लाख नेता–कार्यकर्ता आज चितवनमा भेला हुने उहाँको दावी छ ।

उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यक्रम छ । महाधिवेशनको उद्घाटन सत्र अपरान्ह ४ बजेसम्म सकिने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

एमाले महाधिवेशनमा भारतका मुख्य ५ दलका गरी विभिन्न ४ मुलुकबाट विदेशी पाहुना चितवन पुग्ने नेता राजन भट्टराईले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने हुनुभएको छ । अध्यक्ष सहभागी नभए पनि पार्टीले एक जना माथिल्लो तहकै नेता पठाउने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।

एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भने बोलाएको छैन । नारायणी नदी किनारमा उद्घाटन सत्र समापन पश्चात चितवनको सौराहामा एमालेको महाधिवेशनको बन्दसत्र सुरु हुनेछ ।

एमालेको नयाँ नेतृत्वका लागि हालसम्म उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । नेताहरू महेश बस्नेत र शेरधन राईले सचिव पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

नेकपा एमालेमा अध्यक्ष, ४ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव र ५ सचिवसहित १३ जना मुख्य पदाधिकारी छन् । तर गत असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनले अब एमालेमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव गरी १५ पद रहने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *