आगामी तीन दिन: एकदुई ठाउँमा हल्का हिमपात हुने, प्रदुषण नघट्ने
९ मंसिर २०७८ काठमाडौं । अबको तीन दिन उच्च पहाडी तथा हिमाली भेगका एकदुई ठाउँमा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् ।
तत्काल पानी पार्ने कुनै प्रणाली नभएपनि स्थानीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भेगका एकदुई ठाउँमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार आज दिउँसो देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो ।
यस्तै राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैबीच चिसो बढेसँगै तुवाँलो लाग्दा मौसम पूर्ण रुपमा खुल्न नसक्ने मौसमविद्ले बताएका छन् । तत्काल पानी पार्ने वा तिब्र गतिको हावा चल्ने प्रणाली नभएकाले प्रदुषण तत्काल घट्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीको भनाइ छ ।
प्रतिक्रिया