Main News

आज देशभरका अदालतमा बार एशोसिएशनको आन्दोलन

हिमालय टिभी
२०७८ मंसिर ७ गते १३:१८
आज देशभरका अदालतमा बार एशोसिएशनको आन्दोलन

७ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत कानून व्यवसायीले आज पनि देशभरका अदालतमा आन्दोलन गरिरहेका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेका कानून व्यवसायीले देशैभरका अदालतको काम ठप्प पार्ने बताएका छन् ।

आज हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत र न्यायाधिकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने कानून व्यवसायीले बताएका छन् ।

आज देशभरका १८ वटै उच्च अदालत तथा उच्च अदालतका इजलास रहेका स्थानमा विरोधसभा गर्ने नेपाल बार एशोसिएशनका महासचिव लीलामणि पौडेलले बताउनु भयो ।

यस्तै उच्च अदालतमा बहस तथा पैरवी नगर्ने र विरोध कार्यक्रमका लागि पर्यवेक्षक खटाउने बारको तयारी छ । बारले तेस्रो चरणको विरोध कार्यक्रम आगामी शुक्रबारसम्मका लागि तय गरेको छ ।

बारको नेतृत्वमा गत कात्तिक १४ गतेदेखि विभिन्न चरणको आन्दोलन जारी राखेका कानून व्यवसायीले हिजो नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा तथा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बारले आज सत्तारुढ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी र प्रतिपक्षी नेपाल मजदूर किसान पार्टीलाई ध्यानाकर्षण पत्र बुझाउँदै छ ।

बारको आन्दोलनसँगै सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गर्दै आए पनि गोलाप्रथाबाट इजलास तोक्ने गरी कार्यविधि संशोधन भएपछि काममा फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *