Main News

छाङरु र तिङ्करको जनगणनाका लागि टोली छाङरु पुग्यो

हिमालय टिभी
२०७८ मंसिर ७ गते ९:२६
छाङरु र तिङ्करको जनगणनाका लागि टोली छाङरु पुग्यो

७ मंसिर २०७८ दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्कर गाउँको जनगणनाका लागि टोली छाङरु पुगेको छ ।

जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गरेर छाङरु पुगेपछि उनीहरूले फर्किदा हेलिकोप्टरको व्यवस्था गरिदिन माग गरेका छन् । छाङरु र तिङ्कर दुबै गाउँमा जनगणना गरिसक्न तीन दिन लाग्ने दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेले जानकारी दिनुभयो ।

चिसो छल्न तिङ्करबासी बेँसी झर्न थालेकाले जनगणना गर्न चुनौती थपिएको छ । त्यहाँका गणक राजेन्द्र कार्की हिड्न नसक्ने भएपछि खलङ्गामै रहेकाले उहाँलाई परिचालन गरेर छुट भएकाहरूको गणना गरिने पाण्डेको भनाइ छ ।

नेपालतर्फ सुरक्षित बाटो नहुँदा व्यासका स्थानीयहरू भारतीय बाटो प्रयोग गर्दै सदरमुकाम खलङ्गाबाट गाउँसम्म आवतजावत गर्दै आएका छन् । भारतले गणकलाई मात्रै जान अनुमति नदिएको तर स्थानीयहरू पास लिएर अहिलेपनि आवतजावत गरिरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताउनुभयो ।

घुम्न जाने नेपालीलाई पास दिइरहेको भारतीय प्रशासनले बाटो बिग्रिएको र केन्द्र सरकारको अनुमति नभएको भन्दै गणकलाई भारतीय बाटोबाट व्यास जान अनुमति नदिएको हो ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको नाबि, कुटी र गुञ्जी गाउँमा गएर जनगणना गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ । भारतले महाकालीको किनारैकिनार लिपुलेकसम्म बाटो बनाएको छ भने अतिक्रमित भूमिमा ठूलो सुरक्षा तैनाथ गरेको छ ।

गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी अहिलेको स्थितीमा गणना गर्न निकै समस्या पर्ने बताउनुभयो । व्यास गाउँपालिका–१ मै पर्ने गुन्जी, कुटी र नाभी गाउँमा करिब ३ सय २० परिवारका एक हजार जनाको बसोबास रहेको अनुमान छ ।

जनगणनाको समय सकिन तीन दिन मात्रै बाँकी रहँदासमेत उक्त क्षेत्रको जनगणनाबारे अझै अन्यौलता कायमै रहेकाले सरकारले समयमै ठोस कदम चाल्नु आवश्यक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *