राजनीति

एमाले महाधिवेशन : न नीतिको बहस, न नेतृत्वका लागि प्रतिष्पर्धा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ६ गते २०:३९
एमाले महाधिवेशन : न नीतिको बहस, न नेतृत्वका लागि प्रतिष्पर्धा (भिडियो रिपोर्टसहित)

६ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेले दशौँ महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्दैछ । चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म हुने दशौँ महाधिवेशनमा धेरैजसो मुख्य पदहरु सर्वसम्मतिमै टुंगो लाग्ने अनुमानका बीच अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भीम रावलले आफ्नो दाबेदारी पेश गर्नुभएको छ ।

तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालको साथ छोडेपछि एमालेमै बसेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काउन्टर दिइरहेका उपाध्यक्ष भीम रावलले दशौँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।

नवौँ महाधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित रावलले दशौँ महाधिवेशनमा अध्यक्षमा दाबी गर्नु संगठन संरचनाका आधारमा वा सापेक्षाताका आधारमा स्वभाविक छ । तर रावलको यो उम्मेदवारी कति दिनसम्म कायम रहन्छ ? काठमाडौंमा घोषणा गरिएको उम्मेदवारी चितवनको नारायणी किनारसम्म पुग्छ कि पुग्दैन भन्नेमा शंका गर्न थालिएको छ ।

आफूलाई स्पष्ट अडानको नेता भनेर बारम्बार दाबी गर्ने र अडानबाट त्यत्ति नै स्खलित भइरहने रावल प्रवृत्ति एमालेवृत्तमा राम्रैसँग परिचित छ । पार्टीभित्र सुदूरपश्चिम प्रदेश इन्चार्ज पद खोसिएपछि दशबुँदेको शंखध्वनी जति नै फुके पनि रावलले ओलीका कान खुलाउन सक्नु भएन ।

बरु उल्टै दश बुँदे कार्यान्वयन गर्ने कार्यदलको संयोजक पदले मुखमा बुझो लाइदिएर ओली हलुंगो हुनुभयो । दश बुँदे कार्यान्वयनमा असफल भएको घोषणासहित राजीनामा दिएका रावल अहिले अध्यक्ष पदका लागि ओलीसँगै भिड्न खोज्दा यो उम्मेदवारी पनि दश बुँदे जस्तै फुस्सा होला कि भन्ने लाग्नु स्वभाविक हो ।

एमाले चितवन महाधिवेशन वनभोज कार्यक्रमका रुपमा सीमित हुने निश्चित छ । महाधिवेशनमा छलफल हुनुपर्ने पार्टीको विधान, राजनीतिक तथा सांगठनिक प्रतिवेदनहरु यहाँ प्रस्तुत हुने र छलफल हुने छैनन् । अध्यक्ष ओलीको शब्दशिल्पीमा महासचिव तथा उपमहासचिवले गएको असोज महिनामै गोदावरीमा प्रतिवेदन पेश गरिसकेका छन् ।

झण्डै ६ हजार कार्यकर्तामाझ पार्टीको विधान तथा राजनीतिक र सांगठनिक प्रतिवेदन गोदावरीमै पास गरिसकिएको छ । अनि चितवनमा झण्डै दुई हजार महाधिवेशन प्रतिनिधि उपस्थित भएर पार्टी अध्यक्ष पदमा केपी शर्मा ओलीलाई सर्वसम्मतिको थपडी पिट्ने निश्चित नै छ ।

यही पूर्वतयारीका बीच रावलको उम्मेदवारी कतिपयलाई माछी काँडो पो हुन्छ कि भन्ने आशंका छ । यो उम्मेदवारी माछी काँडो बन्ने वा ओलीको नाकमा डोरी बन्ने कुरा नेकपा एमालेको भविष्यसँग समेत जोडिएको छ ।

मूलधारको पार्टी, कम्युनिष्ट पार्टी, आफूलाई समाजवादी र लोकतान्त्रिक भन्ने पार्टी निकट भविस्यमै डायनोसर जसरी विलय नहोस् भन्नका लागि पनि लोकतान्त्रिक अभ्यास हुनुपर्छ भन्ने कतिपयको शुभेच्छा छ । तर रावलको उम्मेदवारीले मात्रै यो शुभेच्छाको भारी बोक्न सक्ला र रु उहाँकै उम्मेदवारी पनि नारायणी तीरसम्म पुग्छ कि बागमतीकै तीरमा विसर्जन हुन्छ रु मुख्य संशय यसैमा छ ।

एमालेले महाधिवेशन उद्घाटन समोरहमा उतार्ने ५ लाख कार्यकर्ताको भूमिका विभिन्न भागभंगीसहित अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वर्तमान सरकारमाथि गर्ने तीखा प्रहारहरुमा हुटिङ गर्ने र ठोरीमा रामसीताको मूर्तिमा भइरहेको जयजयकार अनुशरण गरेर ओलीमा समर्पित गर्नेमै सिमित हुनेछ ।

२ सय २५ केन्द्रीय सदस्यका लागि हुने महाधिवेशनमा १५ पदाधिकारीभित्र छिर्ने चाहना भएकाहरु अहिले बालकोट दरबारमा साँझ(बिहान छिरिरहेका छन् । केन्द्रीय सदस्य मात्र हुन चाहनेहरु महाधिवेशन प्रतिनिधि भएकाहरुलाई फेसबुकबाट बधाई दिने काममा तल्लीन छन् । पदाधिकारीमा उम्मेदवारी घोषणा गर्ने हिम्मत भीम रावलले मात्रै देखाउनु भएको छ ।

बालकोट दरबार छिर्न नपाएको झोँकमा ओलीविरुद्ध उम्मेदवारी दिएको आरोप लगाउने एमालेजनले रावलको विरोध गरिरहँदा पार्टीभित्रको आन्तरिक लोकतन्त्र जिवित राख्न पनि यत्तिको अभ्यास गर्नुपर्छ भन्नेलाई केही ऊर्जा मिलेको छ । नत्र यत्रो आरती गर्दा पनि १५ जनामा त कसो नपरिएला भनेर आशिर्वाद कुरिरहेकाहरु त बर्खामा गलेको कर्कलाको डाँठभन्दा कसरी फरक हुन सक्लान् र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्