राजनीति

एमाले उपाध्यक्ष रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ५ गते १६:५८
एमाले उपाध्यक्ष रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उपाध्यक्ष रावलले चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । उहाँले देश, जनता र पार्टीको सामू भएका र आउनसक्ने चुनौतीहरुको सामना गर्न आफूले उम्मेद्वारीको घोषणा गरेको बताउनु भयो ।

रावलले विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमका लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शिर ठाडो गरी समृद्धिको पथमा अग्रसर तुल्याउन पार्टीलाई नेतृत्व दिने निर्णय गरेको बताउनु भयो ।

उपाध्यक्ष रावलले राजनीतिक जीवनको आरम्भदेखि आफूले उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको बताउनु भयो ।

उपाध्यक्ष रावलले भन्नुभयो–‘यस पार्टीको सिर्जना, विकास, विस्तार र प्रगतिमा म लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यहरुले बगाएको पसिना सधैँ सार्थक बनिरहोस् भनेर पार्टी केन्द्रीय कमिटीको उपाध्यक्षको हैसियतले गम्भीर भएर सोच्नु र दृढ प्रयत्न गर्नु मेरो पनि कर्तव्य हो । त्यसैले देश, जनता र पार्टीका सामु आज भएका र भोलि आउनसक्ने चुनौतिहरुको सामना गर्न, सबै सकारात्मक सम्भावनाहरुलाई उद्घाटित गर्दै वर्तमान प्रतिष्पर्र्धी विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमको लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शिर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु ।’

पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले– ‘मैले राजनीतिक जीवनको आरम्भदेखि नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु । यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्ताबेजमा उल्लेखित र अनुल्लेखित वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवनमा जिल्लामा हुने नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रिय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

उपाध्यक्ष रावलले नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशन पार्टीलाई एकतावद्ध, सुसंगठित र समयका चुनौतिहरुको सामना गर्नसक्ने गरी क्रियाशील तुल्याउन महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले कोरोना महामारी (कोभिड–१९) ले अर्थतन्त्र र जनजीवनमा पारेको असर, प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या, बढ्दो बेरोजगारी, महंगी जस्ता समस्यासँग जुझ्नको लागि देशका सामु ठोस नीति, कार्यक्रम र निर्णयका साथ राष्ट्रिय शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने चुनौती रहेको बताउनु भयो ।

उपाध्यक्ष रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वमै बसेर गुटबन्दी गर्दा पार्टी कमजोर भएर फुटमा परिणत भएको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्