Main News

आफ्नो मासेर विदेशी पोस्ने सरकारको नीति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ४ गते २०:३०
आफ्नो मासेर विदेशी पोस्ने सरकारको नीति (भिडियो रिपोर्टसहित)

४ मंसिर २०७८ काठमाडौं । चर्चित योगगुरु बाबा रामदेव यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । रामदेवको नेपाल भ्रमणको मुख्य लक्ष्य नेपालमा पतञ्जलीको उद्योग विस्तार गर्नु हो । सरकार पनि पतञ्जलीलाई चाहिले जग्गा उपलब्ध गराउन तयार छ ।

नेपालमा आयुर्वेदिक औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय सिंहदरबार वैद्यखाना उत्पादन गर्न नसकेर बन्द हुने अवस्थामा छ । आफ्नै आयुर्वेदिक उत्पादनलाई बेवास्ता गरिरहेको सरकारले रामदेवको पतञ्जलीलाई भने सहयोगका लागि तत्परता देखाएको छ ।

बाबा रामदेव नेपालमा पतञ्जलीको व्यपारलाई विस्तार गर्न लागि पर्नु भएको छ। नेपालमै झण्डै चार शताब्दीको विरासत बोकेको हालको सिंहदरबार बैद्यखाना बेवारिसे बनाउने र विदेशी कम्पनीलाई सहयोग गर्न नेताहरु हानाथाप गरिरहेका छन् ।

सरकारी बेवास्ताका बाबजुद जसोतसो आयुर्वेदिक औषधि उत्पादन गरिरहेको बैद्यखानालाई बेवास्ता गरेर प्रधानमन्त्री शेरबहादुर देउवा नै भारतीय योग गुरु रामदेवको कम्पनीलाई उकास्न कम्मर कसेर लाग्नु भएको छ ।

पछिल्लो समय त्यसै पनि पतञ्जलीसहित भारतीय कम्पनीका आयुर्वेदिक औषधिले नेपाली उत्पादनहरु छायाँमा परिरहेका छन् । जुनसुकै पार्टीको सरकार आए पनि सँधै ओझेलमा पर्ने यो सिंहदरबार बैद्यखाना रामदेव सरकारले गरेको सहयोग हेरेर मात्रै बस्न बाध्य छ ।

कुनै सयम सिंहदरबार बैद्यखानाले एक सयभन्दा बढी आयुर्वेदिक ओषधि उत्पादन गर्ने गरेको थियो । तर अहिले आएर मुस्किले फाट्टफुट्ट उत्पादन हुन्छ । सिमितताबीच हुने उत्पादनले नाफाभन्दा धेरै घाटा चलिरहेको छ ।

आयुर्वेदको क्षेत्रमा नागरिकको सबैभन्दा धेरै भरोसा जिवित राखेको यो वैद्य खानालाई उकास्न न सरारको चासो छ न कुनै राजनीतिक दलको ।
मुलुकमा आयुर्वेदलाई कत्ति पनि महत्व नदिने सरकारदेखि राजनीतिक दलका नेताहरु भारतीय योग गुरुलाई निकै मेजमानी गरिरहेका छन् ।

रामदेवले गर्ने कार्यक्रममा समेत नेताहरु लाइन लागेर पुगिरहेका छन् । पछिल्लो समय आयुर्वेदिक औषधि उत्पादनभन्दा बढी किराना उत्पादन र व्यवसायमा केन्द्रित रामदेवको पतञ्जलीलाई नेताहरु लाइन लागेर सहयोग गर्न तयार छन् ।

आयुर्वेद उद्योगमा रामदेवको प्रवेशले सिंहदरबार बैद्यखाना सहित स्वदेशमा संघर्षरत थुप्रै आयुर्वेदिक औषधि उत्पादकहरु झनै धरासायी बन्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *