राजनीति

कांग्रेसको प्रदेश क्षेत्र अधिवेशनमा नेताहरूका गुटैगुट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ३ गते २०:५०
कांग्रेसको प्रदेश क्षेत्र अधिवेशनमा नेताहरूका गुटैगुट (भिडियो रिपोर्टसहित)

३ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै केन्द्रीय नेताहरु शक्ति आर्जनमा केन्द्रित छन् । शुक्रबारबाट शुरु भएको प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रीय नेताहरुको नजर तेर्सिएको छ ।

केन्द्रमा रहेका गुट–उपगुटको संस्कार प्रदेश क्षेत्रीय अधिवेशनमा देखिएको छ । कतिपय क्षेत्रमा सहज मतदान भएपनि कतिपय क्षेत्रमा नेताहरुको गुटका कारण विवाद भयो ।

१४ हिमाली जिल्लामा अधिवेशन सकेको कांग्रेसले शुक्रबार ५९ जिल्लाका अधिकांश प्रदेशसभा क्षेत्रमा अधिवेशन सकिएको छ । केन्द्रीय महाधिवेशन निर्वाचन समितिले केहीस्थानमा विवाद भएपनि त्यसक्षेत्रमा तोकिएकै समयभित्र अधिवेशन सक्ने बताएको छ । तर, पार्टी सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा विवाद चर्किएको छ ।

जिल्ला सभापति कर्ण मल्ल सहित उहाँको समूह यसअघि भएको वडा तथा पालिका अधिवेशनलाई मान्यता नदिन माग गर्दै पार्टी कार्यालय सानेपामा अनसनरत् छ । सभापति देउवाले जिल्ला कार्यसमितिलाई वेवास्ता गर्दै जबरजस्ती अधिवेशन गराएको मल्ल पक्षले आरोप लगाउँदै आएको छ ।

केन्द्रीय निर्वाचन समितिमा उजुरी समेत परेपनि ठोस निर्णय हुन सकेको छैन । तर, विवादकाबीच प्रदेशसभा क्षेत्रीय अधिवेशन गरियो । यसलाई मान्यता नदिन मल्ल पक्षले माग गर्दै आएको छ । सभापति देउवाको जिल्ला डडेल्धुरामा मात्र होइन, रसुवामा पनि विवाद छ ।

उपसभापति विमलेन्द्र निधिले प्रतिनिधित्व गर्ने प्रदेश २ को सर्लाहीमा पनि अधिवेशन हुन सकेको छैन । संस्थापन र संस्थापन इतर तथा स्थानीय नेताहरुको वर्चश्व कायम गर्ने होडले सर्लाही विवाद तत्काल मिल्ने सम्भावना देखिदैन । नेताहरुको गुटगत व्यवहारले रौतहटलाई पनि गाँजेको छ ।

रौतहटमा पनि वडा अधिवेशन नै हुन सकेको छैन । अर्कोतिर सभापति देउवाको विश्वासपात्र मानिएका मोहन बस्नेतको जिल्ला सिन्धुपाल्चोकमा वडा अधिवेशन नै हुन सकेको छैन । काठमाडौंका २० प्रदेशसभा क्षेत्रमध्ये केहीमा सहमतिमै पदाधिकारी चयन गरिएको छ भने केहीमा प्रतिष्पर्धा गराइएको छ ।

अधिवेशनको प्रक्रिया आरम्भ भएपनि विवाद भएका केही ठाउँमा भोलिपल्ट सक्ने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसले देशभरका तीन सय ३० निर्वाचन क्षेत्रमा प्रदेशसभा अधिवेशन गर्नु पर्ने थियो । प्रदेशसभा अधिवेशनले प्रदेशसभा कार्यसमिति निर्वाचित गर्ने छ ।

कार्यसमितिमा तीन महिला सहित १० जना प्रत्यक्ष निर्वाचित गर्ने र महिला, दलित, खसआर्य, आदिवासी, थारु,मधेसी, मुस्लिम र पिछडिएको क्षेत्रबाट थप ६ जना गरि १६ जना कार्यसमिति निर्वाचित गर्ने छ । १६ जना मध्येबाट एक जना कोषाध्यक्ष निर्वाचित गर्ने र पछि सभापतिले थप चार जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गते सम्मका लागि तय भएको छ । तर, तल्लो तहमै नेताहरुले देखाएको गुटगत व्यवहारले काँग्रेस कार्यकर्ताहरु आजित बनेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *