एमआरपी विस्थापन गर्दै विद्युतीय राहदानी ई–पासपोर्ट जारी गर्दै राहदानी विभाग

१ मंसिर २०७८ काठमाडौं । राहदानी विभागले एमआरपी विस्थापन गरी आजदेखि विद्युतीय राहदानी ई–पासपोर्ट जारी गर्दै छ।
त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताउनुभयो । परराष्ट्रमन्त्री नारायण खड्काले एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गर्नुहुनेछ ।
महानिर्देशक अर्यालका अनुसार यसको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। यसअघि चार प्रकारका पासपोर्ट जारी हुँदै आएकोमा अब सात प्रकारका पासपोर्ट जारी हुनेछन्।
ई–पासपोर्टको पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको छ। पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा छ।
पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने अर्यालले बताउनुभयो। अरू प्रकारका भने जनवरीदेखि मात्रै जारी हुनेछन्। मेसिन रिडेबल पासपोट एमआरपी विस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ।
सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउनेछन्। विभागले २० लाख ई–पासपोर्ट छपाइ गर्न सन् २०२० डिसेम्बरमा फ्रान्सको कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो।
अर्यालका अनुसार ई–पासपोर्टमा माइक्रो चिप्स हुन्छ। चिप्समा औंठाछाप, तस्बिरलगायत व्यक्तिगत विवरण हुन्छन्। यी विवरण राखेर चिप्स लक गरिसकेपछि कसैले फेरबदल गर्न सक्दैन ।
प्रतिक्रिया