Main News

विश्वासको मत लिने राईको तयारी प्रमुख प्रतिपक्ष एमालेका कारण असफल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३० गते २०:२५
विश्वासको मत लिने राईको तयारी प्रमुख प्रतिपक्ष एमालेका कारण असफल (भिडियो रिपोर्टसहित)

३० कात्तिक २०७८ विराटनगर । प्रदेशसभाबाट आज विश्वासको मत लिने प्रदेश १ को सत्तारूढ पाँच दलीय गठबन्धनको तयारी प्रमुख प्रतिपक्ष एमालेका कारण असफल भएको छ ।

प्रस्ताव संसद बैठकमा टेबल हुनै नपाई आजको बैठक स्थगित भएपछि मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने योजना असफल बनेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बन्दको कारण आफ्ना सांसद आउन नसकेको भन्दै लफडा गरेपछि बैठक स्थगित गरिएको हो ।

प्रदेश १ को प्रदेश सभा बैठक शुरु भएको जनाउ घण्टी बज्यो । मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाउनेमा ढुक्क भएर सत्तारुढ दलका सांसहरु सभाहलमा प्रवेश गरे । सभामा राष्ट्रिय गीत घन्कियो । अनि सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिपक्षी दलको उपस्थिति नभएको भन्दै बैठक स्थगित भएको घोषणा गरिदिनुभयो ।

मुख्यमन्त्रीले विश्वासको मत पाउने भनेर खुसी भएर सभामा उपस्थित भएका सत्तारुढ पाँच दलका सांसद खिन्न भएर फर्किए । संसद नियमावलीमा कोही पनि प्रतिपक्षी दलका सांसद संसदमा उपस्थित नभए बैठक चल्न नसक्ने उल्लेख छ । यो त सभामुखलाई बाहना मात्रै थियो ।

किनकी प्रमुख प्रतिपक्ष एमालेले बन्दका कारण आफ्ना धेरै सांसद अनुपस्थित रहेको जनाउँदै बैठक रोक्न यसअघि माग गरेको थियो । तर सत्तारुढ दलहरुले बैठक रोक्न सहमत नभएपछि दबाबमा परेर सभामुख भण्डारी प्रदेश सभा बैठक चलाउन बाध्य हुनुभएको थियो । एमालेका प्रदेश १ का प्रमुख सचेतक बुद्धिराज राजभण्डारीले बन्दका कारण जिल्ला गएका प्रदेश सभा सदस्य आइ नपुगेकाले बैठक स्थगित गर्न माग राख्दै संसद् सचिवालयमा पत्र दिनुभएको थियो ।

मुख्यमन्त्री राईले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठकमा सभामुखले एकाएक स्थगित गरेपछि सत्तारुढ दल सभामुखको भुमिकाप्रति असन्तुष्ट देखिएको छ । सभामुख भण्डारीले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको सत्तापक्षले आरोप छ ।

पाँच दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ । गठबन्धनमा काग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टी जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् ।

मुख्य विपक्षी एमालेसँग ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा एमाले मत संख्या ३९ मात्रै हुन्छ । सत्ता गठबन्धनले सजिलै विश्वासको मत पाउने देखिएपछि एमाले प्रक्रिया अल्झाउने उपाय खोजिरहेको थियो । र आज उसले पाएको मौकालाई सदुपयोग गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *