विप्लव समूहको नेपाल बन्दको सामान्य प्रभाव, केही बन्दकर्ता पक्राउ
३० कात्तिक २०७८ विराटनगर । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज नेपाल बन्दको आब्हान गरेको छ ।
नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजीको माग गदै विप्लव समूहले आज नेपाल बन्द आह्वान गरेको हो । तर बन्दको प्रभाव भने सामान्य मात्र देखिएको छ ।
निगमले गत बिहीबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको थियो ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको चौतर्फी आलोचना भइरहेको छ । विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनले पनि मूल्य वृद्धिको विरोध गरिरहेका छन् ।
यसैबीच देशका विभिन्न स्थानमा बन्द गराउँदै हिडेका केहीलाई प्रहरीले पक्राउ गरेको छ । सोही क्रममा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् ।
आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिनुभयो ।
पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उहाँले माग गर्नुभयो । नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।
यस्तै चितवनमा नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो । सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पु¥याउन पाएका छैनन् । थापाले भन्नुभयो, “जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।”
बन्द आह्वानका कारण अन्य दिनमा झै सवारी साधन भने चलेका छैनन् । बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ ।
प्रतिक्रिया