Main News

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

हिमालय टिभी
२०७८ कार्तिक ३० गते ८:०१
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

३० कात्तिक २०७८ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित बिग होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् ।

पाँच दलीय गठबन्धनको समर्थनमा कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउनु भएको थियो ।

प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको प्रस्ताव विफल गराउन सक्ने भन्दै गठबन्धन दलका सबै सांसदहरूलाई एकै ठाउँ भेला गरेर राखिएको हो । मुख्यमन्त्री राईले भने प्रदेशसभाबाट विश्वासको मत पाउन कुनै समस्या नभएको बताउनु भएको छ ।

पाँच दलीय गठबन्धनका ५० सांसद रहेकोले मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न कठिन नहुने देखिएको छ । ९२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ ।

सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे प्रदेशसभा बैठक बोलाएका छन् । यसअघि कात्तिक २३ गते बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि आवश्यक तयारी नपुगेको भन्दै आजसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *