कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेण्डा
२८ कात्तिक २०७८ काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।
पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि आवश्यक प्रक्रिया पूरा गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो १ बजे बैठक बस्नेछ ।
केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय निर्वाचन समितिले परिमार्जन गरेको महाधिवेशन कार्यतालिका अनुमोदन गर्ने, महाधिवेशनका लागि आवश्यक समितिहरु गठन, महाधिवेशन प्रयोजनका लागि विधानका विभिन्न धारा–उपधारा निलम्बन गर्ने बताइएको छ।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न हिजो बूढानीलकण्ठमै कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक राखेको थियो ।
पदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंसिर २४ देखि २७ सम्म १४औँ महाधिवेशन गर्ने मिति निर्धारण गरेको छ।
क्रियाशील सदस्यता र समायोजनमा विवाद देखिएपछि महाधिवेशन प्रक्रिया सुरु हुन नसकेका १३ जिल्लामा हिजोदेखि फेरि महाधिवेशन प्रक्रिया सुरु भएको छ। ६४ जिल्लामा कांग्रेसले यसअघि नै अधिवेशन प्रक्रिया सुरु गरेको थियो।
कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सातै प्रदेशको अधिवेशन हुनेछ।
प्रतिक्रिया