Main News

आजदेखि १२ वर्षमाथि उमेर समूहका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

हिमालय टिभी
२०७८ कार्तिक २८ गते ७:३६
आजदेखि १२ वर्षमाथि उमेर समूहका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाइँदै

२८ कात्तिक २०७८ काठमाडौं । सरकारले १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीलाई लक्षित गर्दै आजदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउने भएको छ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले दिएको १ लाख डोज खोप आजदेखि मंसिर ४ गतेसम्म दिइने भएको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार आजदेखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने छ।

दुई मात्रा लगाइने फाइजर खोप पहिलो डोज लगाएको २१ देखि २८ दिनभित्रमा लगाइ सक्नुपर्ने स्वास्थ्य मन्त्रलयका प्रवक्ता डा कृष्ण पौडेलले बताउनुभयो । यस्तै अभियानको अन्तिमसम्म पनि खोप बाँकी रहेको खण्डमा खोप १२ देखि १७ वर्ष उमेर समूहका अन्य व्यक्तिलाई दिइनेछ ।

खोप लगाउनका लागि दिर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचार सम्वन्धी पूर्जा र दोस्रो मात्राको लागि पहिलो मात्रा लिइएको खोप कार्ड अनिवार्य चाहिने छ।

मुटुको बिरामी भई शल्यक्रिया गरेका वा औषधि प्रयोग गरिरहेका, मृर्गौला फेरेका, डाइलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारका क्यान्सरको पहिचान भई उपचारमा रहेका, फोक्सोको समस्या भई चिकित्सकको पूर्जा बमोजिम औषधि सेवन गरिरहेकाले यो खोप पाउनेछन् ।

त्यस्तै अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, मस्तिस्क र मस्तिष्कका रक्तनली सम्वन्धी रोग लागेकालाई पनि यो खोप दिइनेछ ।

नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ। फाइजरको खोप लगाउन थालिएको यो पहिलो पटक हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *