Political Hightlights

यसरी हुँदैछ तीन प्रमुख राजनीतिक दलका महाधिवेशनको तयारी

हिमालय टिभी
२०७८ कार्तिक २७ गते २०:४८
यसरी हुँदैछ तीन प्रमुख राजनीतिक दलका महाधिवेशनको तयारी

२७ कात्तिक २०७८ काठमाडौं । देशका प्रमुख तीन ठूला राजनीतिक दलहरु महाधिवेशनमा होमिएका छन् । एमालेले आज महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । यस्तै नेपाली कांग्रेसले चाडबाडका कारण रोकिएको वडा र स्थानीय तहको अधिवेश आजदेखि शुरु गरेको छ । यस्तै नेकपा माओवादी केन्द्रले पनि आजदेखि टोल सम्मेलन शुरु गरेको छ । यसले यतिबेला देश राजनीतिक दलको महाधिवेशनको माहोलमा छ भन्ने देखिन्छ ।

सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनको मिति पटक पटक सर्दै मंसिर २४ देखि २६ गतेसम्मका लागि तय भएको छ । अब काँग्रेसले कानूनतः महाधिवेशन सार्ने ठाउँ छैन । राष्ट्रियसभाका २० सदस्यका लागि हुने निर्वाचन होस् वा प्रतिनिधिसभाको उपनिर्वाचनमै भाग लिनका लागि काँग्रेसले मंसिर भित्र महाधिवेशन गर्नै पर्छ ।

क्रियाशील सदस्यता विवादका रोकिएका वडा तथा स्थानीयपालिकाका अधिवेशनहरु शनिबारबाट सुरु भएका छन् । सदस्यता विवादका कारण प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन सम्पन्न हुन सकेको थिएन् ।

काँग्रेसले यस अघि नै ४६ जिल्लामा वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ भने १३ हिमाली जिल्लामा पनि अधिवेशन सकेको छ । रोकिएका अधिवेशन सुरु भएसंगै अब नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमा हुने लगभग पक्का भएको छ ।

नेपाली कांग्रेसले भन्दा पछि महाधिवेशन प्रक्रिया थालेको नेकपा एमालेले काँग्रेसले भन्दा पहिले मंसिर १० गते देखि १२ गतेसम्म चितवनमा पार्टीको १० औं महाधिवेशन गर्दैछ । शनिवार नै एमालले देशभरबाट एक साथ महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । ८ लाखभन्दा धेरै संगठित सदस्य मध्येबाट महाधिवेशन प्रतिनिधि छनौट हुने एमालेको भनाइ छ ।

नेकपा एमाललेले असोज दोस्रो साता ललितपुरको गोदाबरीमा विधान महाधिवेशन सम्पन्न गरेको थियो ।

यस्तै नेकपा माओवादी केन्द्रलाई पनि महाधिवेशनले छोएको छ । माओवादीले पुस ११ गते देखि १३ गते सम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने तय गरिसकेको छ । मंसिर ४ गतेबाट वडा अधिवेशन सम्पन्न गर्ने मिति तय गरेको माओवादी केन्द्रले पार्टी सदस्यताको इन्ट्री गर्ने काम धमाधम गरिरहेको जानकारी दिएको छ । माओवादीले पौने सात लाख सदस्यता पुग्ने अनुमान गरेकोछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्