Main News

बिहीबार राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २४ गते २१:०३
बिहीबार राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिँदै (भिडियो रिपोर्टसहित)

२४ कात्तिक २०७८ काठमाडौं । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना भोलिदेखि शुरु हुँदैछ । भोलि बिहान साढे ९ बजे राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिनेछ । कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जम्मा १५ दिनको अवधिमा हुने जनगणनाको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

जनगणना सञ्चालन गर्न देशभरका ७ प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र र त्यसअन्तर्गत ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् । विशेषगरी ठूलो र धेरै जनसंख्या भएका जिल्लाहरुमा एक भन्दा बढी जनगणना कार्यालयहरु स्थापना गरिएको छ । जनगणना तोकिएकै समयमा सक्नका लागि, ४० हजार गणक तथा ८ हजार पाँच सय सुपरिवेक्षक परिचालन हुनेछन् ।

जनगणनाका लागि काठमाडौं महानगरपालिका समेत गरी काठमाडौं जिल्लाका ६ वटा नगरपालिकाहरुमा डिजिटल पद्धतिमा आधारित क्यापि विधि प्रयोग गरी ट्यावलेटबाट विवरण संकलन गरिनेछ । अन्य जिल्लामा भने कागजी प्रश्नावली प्रयोग गरिनेछ । यो पटक पहिलो पटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा इसेन्सस विधि अपनाएर अनलाइन एप्लिकेसनबाट नेपाली कर्मचारी र आश्रित व्यक्तिहरुको विवरण संकलन गरिनेछ ।

एकजना गणकलाई एउटा परिवारको प्रश्नावली भर्नका लागि औसत २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद्को अवस्थाको जानकारी संकलन गरी सामुदायिक प्रश्नावली भरिनेछ । सरकारले भारतको अतिक्रमणमा परेका कालापानी, लिपुलेक, लिम्पियाधुरामा पनि जनगणना गर्नेछ । त्यहाँको जनगणनाको लागि कुनै न कुनै उपाय खोज्ने तयारी विभागको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *