Main News

विमानस्थलमा रक्सी र दुर्व्यवहार प्रकरण : पर्यटन बोर्डका सीईओ रेग्मी अप्ठ्यारोमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २४ गते २०:५०
विमानस्थलमा रक्सी र दुर्व्यवहार प्रकरण : पर्यटन बोर्डका सीईओ रेग्मी अप्ठ्यारोमा (भिडियो रिपोर्टसहित)

२४ कात्तिक २०७८ काठमाडौं । विमानस्थलका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी विवादमा परेका छन् । तोकिएको भन्दा बढी मात्रामा मदिरा ल्याउन नदिएको भन्दै भन्सारका कर्मचारीमाथि हातपात गरेका रेग्मी अप्ठ्यारोमा पर्ने देखिन्छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी बेलायतबाट फर्किँदा विमानस्थलका कर्मचारीमाथि दुर्व्यवहार गरेपछि विवादमा तानिए । तोकिएको भन्दा बढी परिमाणमा मदिरा बोकेर आएका रेग्मी विवादमा तानिएका मात्र होइनन् गल्ती स्वीकार गरेर जरिवानासमेत तिरिसकेका छन् । तैपनि आफ्नो कुनै गल्ती नभएको रेग्मीको दाबी छ ।

सरकारको प्रतिनिधित्व गर्दै सरकारकै खर्चमा बेलायत गएर फर्किँदै गर्दा रेग्मी विमानस्थलमा मदिरा र हातपात प्रकरणमा मुछिए । ६ वटा रक्सीको बोतल लिएर साधारण गेटबाट बाहिर निस्कन खोज्दा रेग्मीलाई विमानस्थलका कर्मचारीले रोके ।

सामान्यरुपमा एक जनाले १ लिटरसम्म मदिरा ल्याउन पाउने नियमविपरीत ६ बोत्तल मदिरा छिराउन खोजेका रेग्मी आफूलाई सञ्चारमाध्यमहरुले विवादित बनाएको आरोप लगाउँछन् ।

कार्यकारी अधिकृत रेग्मीमाथि विमानस्थलका कर्मचारीलाई मादक पदार्थ सेवन गरी दुर्व्यवहार गरेको आरोप लागे पनि स्वास्थ्य परीक्षण रिपोर्टमा भने मदिरा सेवन गरेको देखिएको छैन । सरकारी खर्चमा विदेश भ्रमण गरेर डलरमा भत्ता खाएका रेग्मीले विमानस्थलबाट अवैध रुपमा मदिरा भित्र्याउन नपाएको भन्दै तमासा गरेपछि उनलाई नैतिकताका आधारमा भए पनि राजीनामा दिन दबाब बढेको छ । तर उनी राजीनामा नदिने अडानमा छन् ।

पर्यटन बोर्ड जस्तो प्रतिष्ठित संस्थाका प्रमुख कार्यकारी अधिकृतले अवैध रुपमा मदिरा ल्याउन खोज्नु अनि यो अवैध भयो मिल्दैन भन्ने कर्मचारीमाथि हातपातसहित अभद्र व्यवहार गर्नु किञ्चत माफीयोग्य कार्य होइन । त्यसैकारण पनि उनीमाथि नैतिकताका आधारमा राजीनामा दिने दबाब बढ्नु स्वभाविक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *