भारतद्वारा सुस्तामा नेपाली भूमि अतिक्रमणको प्रयास

२३ कात्तिक २०७८ काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली सीमा क्षेत्रमा पुनः अतिक्रमणको प्रयास गरेको छ ।
हिजो दिउँसो एसएसबीका सात सुरक्षाकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ को सुस्ता गाउँमा रहेको खाली चौरमा नापजाँच गरेका छन् । भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको जानकारी पाएलगत्तै स्थानीय र सशस्त्र प्रहरी सो स्थलमा पुगेका थिए ।
उनीहरुलाई स्थानीयको सहयोगमा लखेटिएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले हिमालय टेलिभिजनलाई जानकारी दिनुभयो । नेपाली भूमिमा पर्ने १९ हजार ४ सय ८० हेक्टर क्षेत्रफल रहेको खाली चौरमा भारतीय सुरक्षाकर्मीले अतिक्रमण गर्ने प्रयास गरेका हो ।
यसअघि आइतबार मात्र अन्तर्राष्ट्रिय कानून उल्लंघन गर्दै एसएसबीले सोही क्षेत्रको नेपाली आकाशमा ड्रोन उडाएका थिए । भारतीय अतिक्रमणबारे नेपाली पक्षले ध्यानाकर्षण गराएपनि भारतीय प्रशासनले बेवास्ता गरेको छ ।
एसएसबीको फौज हतियारसहित अनुमतिबिना नेपाली भूमिमा प्रवेश गरेको विषयमा असन्तुष्टि जनाउँदै नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भारतीय समकक्षीलाई ध्यानाकर्षण गराउने प्रयास गर्दा पश्चिम चम्पारणका जिल्लाधिकारी कुन्दन कुमार सम्पर्कमा नआएको बताइएको छ ।
नेपाली भूमिमा भारतीय अतिक्रमणको प्रयासबारे जिल्ला प्रशासन कार्यालय नवलपरासीले गृहमन्त्रालयलाई जानकारी गराएको भए पनि समस्या समाधान हुन सकेको छैन । दैनिक जसो भारतीय फौजले नेपाली भूमिमा अतिक्रमणको प्रयास गर्दै आएका छन् ।
नवलपरासीमा नेपाल–भारत सीमा छुट्याउने १६ वटा स्तम्भ छन् तर सुस्ताको २४ किलोमिटर सीमा क्षेत्रमा न सीमा स्तम्भ छ न स्तम्भ राख्न ठोस पहल नै भएको छ । सुस्तालाई नेपाल र भारतले विवादित क्षेत्र मान्दै कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा सहमति जनाए पनि अहिलेसम्म यस विषयमा वार्ता हुन सकेको छैन ।
प्रतिक्रिया