प्रधानसेनापति शर्मा आज भारतको औपचारिक भ्रमणमा जाँदै

२३ कात्तिक २०७८ काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली जाँदै हुनुहुन्छ ।
भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा आजदेखि २६ गतेसम्म भारत भ्रमणमा जान लाग्नुभएको हो । भ्रमणका क्रममा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ ।
शर्मालाई भोलि मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । नेपालका तत्कालिन प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरिएको थियो ।
नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नुहुने छ ।
प्रतिक्रिया