Main News

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

हिमालय टिभी
२०७८ कार्तिक २२ गते १८:१९
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

२२ कात्तिक २०७८ हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ ।

प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा आज मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेका छन् ।

बागमती प्रदेश सभामा अहिले १०९ सदस्य रहेका छन् र विश्वासको मत प्राप्त गर्न कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जनता समाजवादी पार्टीका एक सांसदले मत दिएका थिए ।

विश्वासको मत दिने प्रस्तावको विपक्षमा ४३ मत परेको छ । नेकपा एमाले र विवेकशील साझा पार्टीका सांसदले विपक्षमा मतदान गरे । यस्तै नेपाल मजदूर किसान पार्टीका २ जना सांसद तटस्थ बसेका थिए ।

प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमैया घले अनुपस्थित हुनुहुन्थ्यो । यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

एमालेकी अष्टलक्ष्मी शाक्यलाई विस्थापित गरेका मुख्यमन्त्री पाण्डेले यसअघिको सरकारले गरेको कामको स्वेत पत्र जारी गर्ने बताउनुभयो । उहाँले प्रदेशको आम्दानी बढाउने र नागरिकका जायज माग पूरा गर्ने पनि बताउनुभयो ।

विकास बजेट विनियोजनमा विगतमा असन्तुलन देखिएको भन्दै अब सन्तुलन बनाउने प्रतिबद्धता पनि मुख्यमन्त्री पाण्डले गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *