Main News

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बारको आन्दोलन जारी राख्ने चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २२ गते १४:०५
प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बारको आन्दोलन जारी राख्ने चेतावनी (भिडियो रिपोर्टसहित)

२२ कात्तिक २०७८ काठमाडौं । कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतको प्राङगणमा आज पनि आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानून व्यवसायीहरुले प्रधानन्यायाशीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानून व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताउनुभयो ।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायधीश जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश जबरालाई अब पनि राजीनामा नदिए देशभरका कानून व्यवसायीहरुको आन्दोलनका सामना गर्न तयार रहन चेतावनी दिनु भयो ।

उपाध्यक्ष भट्टराईले भन्नुभयो, ‘हाम्रो अहिलेको माग भनेको प्रधानन्यायाधीशको राजीनामा हो । कुनै पनि हालतमा नेपाल बार एशोसिएशन यो मागबाट बाहिरिनेवाला छैन । नेपाल बार ब्याक हुनेवाला छैन । र देशभरका कानून व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था आयो भने त्यो परिस्थितिको सामना गर्न प्रधानन्यायाधीश तयार हुनुपर्नेछ ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पार्नुभयो । उहाँले न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको बताउनु भयो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले भन्नुभयो, ‘आज न्यायपालिका प्रधानन्यायाधीशका कारण संकेटमा परेको छ । न्यायपालिकामा हिजो समस्या थियो । तर आज न्यायपालिकामा संकट आएको छ । विवाद पहिलो पनि थियो । तर उहाँले संकट निम्त्याउनुभयो । न्यायपालिका समाप्त हुने विन्दुमा पुगेको छ ।’

नेपाल बार एशोसिएशनका पूर्व केन्द्रीय सदस्य रमनकुमार कर्णले न्यायालयलाई बचाउनका लागि पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिन ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबरा रहुन्जेल न्यायालय चल्नै नसक्ने दावी समेत गर्नु भयो ।

कर्णले भन्नुभयो, ‘हामी प्रधानन्यायाधीशको राजीनामा माग गरेर निरन्तर आन्दोलनमा छौं । प्रधानन्यायाधीशको राजीनामा वकिलले माग गर्नु निश्चयनै दुःखद् कुरा हो । तर बारले माग गरिसकेपछि प्रधानन्यायाधीशले राजीनामा नदिनु त्यो भन्दा पनि दुःखद कुरा हो । प्रधानन्यायाधीशले यो बुझ्नु पर्छ कि बार किन तपाईको राजीनामा माग गर्न बाध्य भयो, विवश भयो ? बार र बेन्ज दुवैले तपाईको राजीनामा माग गरिरहेका छन । यस्तो अवस्थामा तपाईसँग राजीनामाको विकल्प छैन ।’

नेपाल बार एशोसिएशनले मंगलबार (भोलि) बिहान साँढे १० बजे पनि सर्वोच्च अदालतको प्राङगणमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानून व्यवसायीहरुलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *