Main News

टोपी लगाएका कारण अमेरिकी राष्ट्रपतिले मलाइ चिने : प्रधानमन्त्री देउवा

हिमालय टिभी
२०७८ कार्तिक १८ गते २०:२९
टोपी लगाएका कारण अमेरिकी राष्ट्रपतिले मलाइ चिने : प्रधानमन्त्री देउवा

१८ कात्तिक २०७८ काठमाडौं । स्कटल्याण्डमा भएको कोप–२६ कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी देउवाले टोपी लगाएका कारण अमेरिकी राष्ट्रपतिले आफूलाई चिनेकोदेखि भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको सम्मका विषय जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबारको पत्रकार सम्मेलनमा अन्य दिनभन्दा निकै खुल्नु भयो । पत्रकार सम्मेलनमा देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनसँगको भेटघाट मात्र होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको प्रसंग सुनाउनुभयो । टोपी लगाएकै कारण अमेरिकी राष्ट्रपति वाइडेनले चिनेको र कुनै समयमा नेपाल पुगेको बताएको देउवाले सुनाउनुभयो ।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्न आग्रह पनि गर्नुभयो ।

लुम्बिनी विमानस्थल सञ्चालनपछि भारतको भूमि हुँदै अन्यत्र विमान पठाउनका लागि भारतको सद्भाव पाएको देउवाको बुझाइ छ । उहाँले भारतले आफ्नो देशमा मल अभाव रहँदा–रहँदै पनि नेपाललाई उपलब्ध गराएकोमा धन्यवाद दिएको जानकारी दिनुभयो ।

अमेरिका र भारत मात्र होइन, बेलायतका प्रधानमन्त्री वोरिस जोनसोन र त्यहाँका रक्षामन्त्रीसँग भएको भेटको प्रसंग पनि देउवाले उठाउनुभयो । बेलायती रक्षामन्त्रीसँग गोर्खा सैनिकको समस्या समाधानबारे छलफल भएको उहाँले जानकारी दिनुभयो । बेलायती प्रधानमन्त्री जोनसोनले पनि नेपालको विकासमा सहयोग पुर्याउने आश्वासन दिएको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालले जलवायु परिवर्तनबाट भोग्नुपरेको क्षतिबारे पनि कुरा राखेको र रकम पाउनुपर्ने दाबी गरेको बताउनुभयो ।

अघिल्लो सरकारले अघि सारेको सगरमाथा डाइलगलाई निरन्तरता दिने बताए पनि प्रधानमन्त्री देउवाले मिति र आमन्त्रण गर्ने व्यक्तित्वबारे टुंङ्गो लाग्न बाँकी रहेको बताउनुभयो । यी र यस्तै धेरै विषयमा संक्षेपमा जवाफ दिएका प्रधानमन्त्री देउवाले कुनै ठोस विषयबारे प्रष्ट बताउनुभएन । तर, अन्य कार्यक्रमहरुमा प्रश्न गर्दा रिसाउने र झर्कने देउवाले बिहीबार भने शालिनता प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *