राजनीति

नेपालमा कस्ता कस्ता कम्युनिष्ट ? न विचारमा सही न त व्यवहारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १७ गते २०:३४
नेपालमा कस्ता कस्ता कम्युनिष्ट ? न विचारमा सही न त व्यवहारमा (भिडियो रिपोर्टसहित)

१७ कात्तिक २०७८ काठमाडौं । आफूलाई कम्युनिष्ट भन्ने नेताहरुको व्यवहार कम्युनिष्ट भन्न सुहाउँदो देखिन छाडेको छ । कम्युनिष्ट पार्टीको नेतृत्व गर्नेहरु न विचारमा कम्युनिष्ट जस्ता छन् न त व्यवहारमा ।

सामान्य बुझाइमा कम्युनिष्ट नेताको आदर्श काल मार्क्स हुनुपर्ने तर, एमाले अध्यक्ष केपी शर्मा ओलीको आदर्श रामसीता हुन्, विचारको गन्तव्य चीन, क्युवा र भियतनाम हुनुपर्ने हो तर ओलीको गन्तव्य अयोध्यापुरी र ठोरी छ ।

ओलीको यही भूमिकामाथि कटाक्ष गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीले ज्ञानेन्द्रका केही मान्छे भेटेको र मौका आए गणतन्त्र उल्ट्याइदिने आश्वासन दिएकोसमेत आरोप लगाउन भ्याउनुभयो । ओलीलाई गणतन्त्र र धर्मनिरपेक्षता मन नपरेकाले परिवर्तन उल्ट्याउन उद्धत रहेको टिप्पणी गर्नसमेत प्रचण्डले भ्याउनु भयो ।

प्रचण्डले प्रतिक्रियावादी शक्तिले ओलीलाई मलजल गरेर प्रतिक्रान्तिकारी बनाएको र त्यसविरुद्ध आफूहरूले संघर्ष गरेको दाबी गर्नुभएको छ ।

ओलीलाई गणतन्त्र विरोधी र हिन्दू अतिवादीको संज्ञा दिने प्रचण्डले ओलीसँगै २०७५ जेठ ३ गते किन पार्टी एकता गरेको भनेर समेत प्रश्न उठ्नु स्वभाविक छ ।

आफ्नो स्वार्थ अनुरुप अघि बढ्ने नेताहरूको व्यवहार र कार्यशैलीमाथि शंका गर्न सकिन्छ । पार्टी एकीकरण पूर्व, एकीकरणपछि र आजको दिनसम्म पनि ओली र प्रचण्डबीचको कटाक्ष फेरिएको छैन । एकअर्कालाई कमजोर देखाउन शब्दमा हदैसम्मको निकृष्टता यी दुवै नेताले पोखिसकेका छन् ।

एकअर्कालाई निचो नदेखाएसम्म आफ्नो राजनीतिक भविस्यमाथि खतरा मडारिइरहन्छ भन्ने सोचले ग्रसित भएर व्यक्तिलको निजत्वमै उत्रिने ओली र प्रचण्डको व्यवहार कुनै पनि कोणबाट कम्युनिष्ट नेताको जस्तो देखिँदैन । कहिले धर्मगुरु र कहिले झुटको पुराण बाचकको भूमिकामा यी नेताहरु पेश भइरहेकै छन् ।

शुभेच्छा र विश्वासको अभिमत बोकेर बसेका नागरिकमाथि भ्रम छर्नु र लामालामा भाषणमार्फत् एकअर्कामाथि प्रहार गर्नु नेताहरुको दिनचर्या बनेको छ । लाभका लागि जुनै हदमा पनि गिर्नु उनीहरुको परिचय बनेको छ ।

पछिल्ला केही महिनामा एमाले अध्यक्ष ओलीले पूर्वीय दर्शन, पूर्वीय सभ्यता, संस्कार तथा रितिरिवाज जस्ता कुरामा जोड दिँदै आफ्ना विचार–अभिव्यक्तिमा पूर्वीय समाज र दर्शनको सन्दर्भ बारम्बर जोड्ने गर्नुभएको छ ।

आफूलाई कम्युनिष्ट भनेर नथाक्ने अनि धर्म निरपक्षता स्वीकार गरिसकेको मुलुकमा धार्मिक अभियान चलाएर अघि बढ्ने उहाँको प्रवृत्तिले उहाँ मुलुकलाई कस्तो दिशा दिन चाहनुहुन्छ ? प्रश्नहरु छन् । अनि यही प्रवृत्तिको विरोध गर्छु भन्ने तर सत्ताको लिस्नो चढ्न सजिलो हुन्छ भने आँखा चिम्लेर अंगालोमा बेरिने प्रचण्ड प्रवृत्तिलाई पनि कम्युनिष्ट भनिरहन सकिएला र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्