Main News

हिमालयको एजेण्डा उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

हिमालय टिभी
२०७८ कार्तिक १६ गते ९:२३
हिमालयको एजेण्डा उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुलाई प्रधानमन्त्री देउवाको आग्रह

१६ कात्तिक २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हिमालयको एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गर्नु भएको छ ।

बेलायतको ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन कोप २६ लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालयको एजेण्डालाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो ।

देउवाले हिमाली क्षेत्रमा तीव्र गतिमा उष्णता बढेर समग्र दक्षिण एशियामै खाद्य, जल, ऊर्जा र मानवीय सुरक्षामा गम्भीर चुनौती खडा गरेको र हिमतालहरु पग्लेर समुद्री सतह बढ्न जाँदा तटीय र टापू राष्ट्रहरुको अस्तित्व सङ्कटमा पर्न थालेको बताउनु भएको थियो ।

हिमाली भेगका बासिन्दाका लागि विश्वव्यापी तापमान १ दशमलव ५ डिग्री सेल्सियसभन्दा तल रहन जरुरी भएको र यो हाम्रो अस्तित्वको सवाल रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

नेपालको कुल जनसङ्ख्याको ८० प्रतिशत प्राकृतिक र जलवायुजन्य प्रकोपको जोखिममा रहेको भन्दै देउवाले गएको ४० वर्षको अवधिमा प्राकृतिक विपद्हरुबाट नेपालमा मात्रै ६ अर्ब अमेरिकी डलर हाराहारीमा भौतिक र आर्थिक क्षति भएको जानकारी गराउनुभयो ।

वातावरणीय सङ्कटहरु बढ्न गई बेहोर्न परेका नोक्सानी तथा क्षति मुख्य चिन्ताको विषय बन्न गएको र यो विषयलाई महासन्धिमा समेटिनु पर्ने उहाँको आग्रह छ ।

अत्यन्त नाजुक राष्ट्रहरुका लागि वित्तीय, प्राविधिकीय र क्षमता अभिवृद्धिको पक्षलाई सबल बनाएर पर्याप्त अनुकूलन कार्यक्रम सञ्चालनमा सहयोगको सुनिश्चितता गर्नु पर्ने प्रधानमन्त्रीले बताउनुभयो । सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य नेपालले राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *