अफगानिस्तानमा अझै पनि चार सय बढी अमेरिकी सैनिक कार्यरत

११ कात्तिक २०७८ काबुल । अफगानिस्तानमा अझै पनि चार सय भन्दा बढी अमेरिकी सैनिक कार्यरत रहेको तथ्य फेला परेको छ ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सैनिकहरूलाई फिर्ता गरिए पनि चार सय ३९ जना अफगानिस्तानमै रहेको दाबी गरेको छ । अमेरिकाको नेतृत्वमा गएको सैन्य गठबन्धनका धेरैजसो सैनिकहरू तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तान छाडेर फिर्ता भएका थिए ।
अमेरिकी सिनेटमा भएको एउटा सुनुवाइका क्रममा रक्षा मन्त्रालयका अधिकारीले अझै पनि अफगानिस्तानमा चार सय ३९ जना अमेरिकी सैनिक कार्यरत रहेको जनाएका हुन् ।
ती अधिकारीले अफगनिस्तानमा रहेका सबै अमेरिकी सैनिक आफूहरूको निरन्तर सम्पर्कमा रहेको पनि दाबी गरेका छन् । मन्त्रालयका उपसचिव कोलिन काह्लले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकमध्ये एक सय ७६ जना अफगानिस्तान छाड्न तयार रहेको जानकारी समेत दिएका छन् ।
अफगानिस्तानमा रहेको सैनिक टोलीले घोषित रूपमा गएको अगस्ट ३१ मा अफगानिस्तान छाड्न सुरु गरेको थियो । तालिवान लडाकुहरूले सत्ता कब्जा गरेपछि गठबन्धन सैनिकले अफगानिस्तान छोड्ने निर्णय गरेको थियो ।
गठबन्धन सेनाले झन्डै २० वर्ष सेवा गर्दा पनि सफलता प्राप्त गर्न भने सकेन । अफगानिस्तानको युद्ध अमेरिकाले अन्य देशमा गरेका युद्धमध्ये सबैभन्दा लामो युद्ध हो ।
प्रतिक्रिया