Main News

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ देखि सञ्चालनको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ९ गते १८:०८
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ देखि सञ्चालनको तयारी  (भिडियो रिपोर्टसहित)

९ कात्तिक २०७८ पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ देखि सञ्चालनको तयारी छ । अबको तीन महिनामै आन्तरिक उडान थालेर आगामी वैशाखदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने पोखरा नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।

आन्तरिक उडानका लागि अहिलेकै विमानस्थल पर्याप्त भएकाले ढिलै गरेर भए पनि अन्तर्राष्ट्रिय उडान सुनिश्चित गरेर मात्रै नयाँ विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने पोखरेलीको माग छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अबको तीन महिनामा पोखराको यो नयाँ विमानस्थलबाट आन्तरिक उडान सुरु हुनेछ । विमानस्थल आयोजनाले निर्माणको ८५ प्रतिशत काम सकिएको जनाएको छ ।

विमानस्थल सञ्चालनका लागि नीतिगत निर्णय लिन र आवश्यक समन्वय गर्न प्राधिकरणले पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमलाई जिम्मा दिएको छ ।

प्राधिकरणले आगामी वैशाखदेखि यहाँबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको छ । प्राधिकरणले आन्तरिक उडानबाट विमानस्थल संचालन गर्ने बताए पछि पोखरेलीले भने त्यसमा आपत्ति जनाएका छन् ।

आन्तरिक उडानका लागि चालु अवस्थामा रहेको विमानस्थल नै काफी रहेको भन्दै उनीहरुले अन्तर्राष्ट्रिय उडानबाटै विमानस्थल सञ्चालन शुरु गर्नुपर्ने बताएका छन् । आन्तरिक उडानबाट परीक्षण उडान गर्दा सकारात्मक संदेश प्रवाह नहुने उनीहरुको तर्क छ ।

पोखराका पर्यटन व्यवसायीले विदेशी एयरलाइन्सका प्रतिनिधिलाई पोखरा बोलाएर उडान भर्नका लागि आग्रह गर्न सरकारलाई सुझाव दिएका छन् । गण्डकी प्रदेश सरकार पनि अन्तर्राष्ट्रिय उडानबाटै परीक्षण उडान सुरु गर्नुपर्नेमा सहमत छ ।

आन्तरिक उडान त अहिले पनि छ, पोखराको सिधै अन्तर्राष्ट्रिय सम्बन्ध पोखरेलीले खोजेका छन् । विमानस्थल निर्माण गर्नका लागि आन्दोलन नै गर्नु परेको स्मरणमै राखेका पोखरेलीले पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन नदिन पनि चलखेल हुनसक्ने आशंका समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *