राजनीति

एमसीसीबारे प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनमा तरंग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ५ गते २०:३८
एमसीसीबारे प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले सत्ता गठबन्धनमा तरंग (भिडियो रिपोर्टसहित)

५ कात्तिक २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधनबिना नै पास हुने बताएपछि राजनीतिमा फेरि नयाँ तरंग पैदा भएको छ । देउवाको अभिव्यक्तिले पाँच दलीय सत्ता गठबन्धनमा समेत पहिरो जाने हो कि भन्ने प्रश्न उठेको छ ।

बाढी पहिरोको क्षतिबारे बुझ्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले एमसीसी संशोधनबिनै पास हुने बताउनु भयो । एमसीसी अनुदानमा आधारित परियोजना भएकाले यो नेपालको कानून मातहत नै हुने भन्दै देउवाले आशंका गर्न नपर्ने बताउनुभयो । एमसीसीबारे झूठा प्रचार मात्र गरिएको उहाँको तर्क छ ।

देउवाको यो अभिव्यक्तिपछि पाँच दलीय सत्ता गठबन्धनमा पहिरो जाने पो हो कि भन्ने प्रश्न उब्जिएको छ । गठबन्धनमा नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने अरु दल अहिलेकै अवस्थामा पारित गर्न नहुने पक्षमा छन् ।

नेकपा माओवादी केन्द्र प्रधानमन्त्री देउवाको अभिव्यक्ति व्यक्तिगत रहेकाले गठबन्धनमा यसले कुनै असर नपर्ने बताउँछ । राष्ट्रियताको मुद्दामा सबै दलको बीचमा सहमति नभइ एमसीसी अघि नबढ्ने तर्क गर्ने माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्रीको अभिव्यक्तिकै कारण गठबन्धन विभाजित नहुने दाबी गर्छन् ।

सत्ता गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि देउवाको अभिव्यक्तिलाई व्यक्तिगत विचार भनेको छ । त्यसैले राष्ट्रिय हितको संरक्षण नगर्ने कुनै पनि सम्झौता संसदबाट अनुमोदन नहुने समाजवादीका नेताहरुको विश्वास छ । देउवाको अभिव्यक्तिले गठबन्धन सरकारमा कुनै धक्का नपुग्नेमा एकीकृत समाजवादीका नेताहरु ढुक्क देखिन्छन् ।

वैदेशिक सहयोगका लागि गरिने सम्झौता राष्ट्रिय हितमा छन् वा छैनन् भन्ने कुरामा विस्तृत अध्यन र त्यसपछि निर्णय लिनुपर्छ । एमसीसी राष्ट्रको हितमा भए पास गर्ने र नभए अमेरिकालाई धन्यवाद भन्दै यो सम्झौतालाई बन्द गरेर नयाँ शिराबाट दुईपक्षीय सम्बन्ध अघि बढाउनु पर्दछ ।

सत्ताको लिस्नो चढ्न जोसँग पनि चोचोमोचो मिलाउने दलहरुले राष्ट्रिय हितसँग जोडिएका हरेक सवालमा आफूलाई एक ठाउँमा उभ्याउनु पर्छ । तर सत्ता स्वार्थमा कुनै विचार वा सिद्धान्तको प्रवाह नगर्ने तर भोटसँग जोडिएका विषयमा आफूलाई पृथक देखाउन खोज्ने प्रवृतिले नागरिकमा भ्रम सिर्जना गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिर झुकाउने काम मात्र हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्