Main News

बेमौसमी वर्षाका कारण देशभर धानबालीमा ६ अर्बको क्षति

हिमालय टिभी
२०७८ कार्तिक ५ गते ८:३८
बेमौसमी वर्षाका कारण देशभर धानबालीमा ६ अर्बको क्षति

५ कात्तिक २०७८ काठमाडौं । बेमौसमी वर्षाका कारण देशभर धान बालीमा करिव ६ अर्बको क्षति पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रारम्भिक तथ्यांक निकालेको छ।

मन्त्रालयका अनुसार २ लाख मेट्रिक टन धानमा क्षति पुग्दा ६ अर्ब रकम कृषकले गुमाएको आकलन छ। असोज ३१ देखि लगातार परेको वर्षाले धानबालीमा सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशको बर्दियामा पुर्‍याएको छ।

बर्दियामा १० हजार हेक्टर क्षेत्रफलमा रहेको धानमा क्षति पुगेको छ। बाँकेमा ७ हजार पाँच सय हेक्टरमा र कपिलवस्तुमा ८ हजार हेक्टरमा रहेको धान पूर्ण रुपमा नष्ट भएको छ । सात प्रदेशमध्ये प्रदेश १, लुम्बिनी र सुदूरपश्चिमको धानबालीमा वर्षाले बढी क्षति पुर्‍याएको छ।

प्रदेश २ मा धानबाली अन्यत्र भन्दा ढिलो लगाइएकाले कम क्षति भएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो । प्रदेश २, बागमती, गण्डकी र कर्णालीको क्षतिको विवरण आएको छैन।

अविरल वर्षाले धानबालीमा पुर्‍याएको क्षतिको विवरण पठाउन मन्त्रालयले सातै प्रदेशमा परिपत्र गरेको थियो। त्यसमध्ये लुम्बिनी र सुदूरपश्चिम प्रदेशले मात्रै प्रारम्भिक तथ्यांक पठाएका छन्। धान काटेको र काट्न बाँकी दुबै गरी क्षतिको विवरण आउने क्रममा रहेको प्रवक्ता सञ्जेलले जानकारी दिनुभयो ।

क्षति पुर्‍याएको र वर्षाले केही असर गरेको गरी दुई प्रकृतिमा राखेर मन्त्रालयले विवरण संकलन गरेको छ। काटेको बालीमा पुर्‍याएको असरलाई क्षति नै भनि परिभाषित गरिएको छ। ठाडो बालीमा वर्षाको असर परेको भनिएपनि क्षतिको रुपमा गणना गरिएको छैन।

अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिदै आएको धानबाली नष्ट हुँदा मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी)देखि आर्थिक वृद्धि समेत प्रभावित हुने देखिएको हो । नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार ४२ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको छ ।

यसमा कृषि क्षेत्रको योगदान २५ दशमलव ८३ प्रतिशत रहेको छ । कृषिमा पनि धानको योगदान करीब २० प्रतिशत रहेको कृषि मन्त्रालयको तथ्यांक विभागका निर्देशक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *