Main News

पहिरोमा परेर बझाङमा २३ जना बेपत्ता, विभिन्न जिल्लामा ६ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २ गते १९:४६
पहिरोमा परेर बझाङमा २३ जना बेपत्ता, विभिन्न जिल्लामा ६ जनाको मृत्यु (भिडियो रिपोर्टसहित)

२ कात्तिक २०७८ काठमाडौं । बझाङको थलारा गाउँपालिका वडा नम्बर ४ डिख्लामा पहिरो खस्दा पुरिएर २३ जना बेपत्ता भएका छन् ।

पहिरोमा परेर गगने सार्कीका परिवारका १८ र नरे पार्कीका परिवारका ५ जना बेपत्ता भएका हुन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँ नै पहिरोको उच्च जोखिममा छन् ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका बासीन्दा विस्थापित भएका छन् । ती गाउँका सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताउनुभयो ।

बाढीले सडक अवरुद्ध भएको र सञ्चार नेटवर्क पनि नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताउनुभयो ।

सेती नदीको बाढीले कटान गरिररहेकाले बझाङ्गको सदरमुकाम चैनपुर पनि उच्च जोखिममा छ । बाढीले किनारामा रहेको बसपार्क समेत बगाएको छ ।

यसैबीच लगातारको वर्षापछि देशका विभिन्न स्थानमा खसेको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । डोटी र सुनसरीमा दुई –दुई तथा कालिकोट र डडेल्धुरामा एक–एक गरी ६ जनाको मृत्यु भएको हो ।

डोटीको सायल गाउँपालिका– ६ अलैत बस्ने डिलबहादुर कुन्जेडाको घर पहिरोले पुर्दा उहाँका ११ वर्षीय छोरा सागर र १५ वर्षीय आशिषको मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरीको धरानमा पनि पहिरोले घर पुरिदा दुई बालबालिकाको मृत्यु भएको छ।

पहिरोले धरान–१३ नागेश्वर मार्गका निशान राईको घर पुरिँदा उहाँकी छोरी ८ वर्षीया निसु र ४ वर्षीय छोरा निहानको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै कालिकोटको महावै गाउँपालिका–७ राम्रीकी १८ वर्षीया स्मृति अधिकारीको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिनुभयो । घरका अन्य सदस्य भने सकुशल छन् ।

यस्तै, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भत्काडामा घरमाथिबाट खसेको पहिरोले पुरिएर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दका अनुसार अमरगढी नगरपालिका–१ मा पनि पहिरोमा परी २ जना घाइते भएका छन् ।

यसैगरी जुम्लाको हिमा नदीले बगाई ल्याएको दाउरा निकाल्न जाने क्रममा नदीले बगाएर जुम्ला हिमा गाउपालिका–६ बाघबजार की ३३ बर्षीया रन्ना शाही बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *