Main News

दशैं विदापछि पहिलो दिन खुलेका प्रशासनिक निकाय सुनसान, मन्त्री र सचिवहरु नै अनुपस्थित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३१ गते १९:४७
दशैं विदापछि पहिलो दिन खुलेका प्रशासनिक निकाय सुनसान, मन्त्री र सचिवहरु नै अनुपस्थित (भिडियो रिपोर्टसहित)

३१ असोज २०७८ काठमाडौं । दशैं बिदा सकिएलगतै आजदेखि सरकारी कार्यालयहरु खुले । कार्यालयहरु त खुले तर कर्मचारीहरुको बिदा भने अझै सकिएन । कार्यालय खुलेको पहिलो दिन देशकै प्रशासनिक भवन सिंहदरबार कस्तो देखियो त ?

कार्यालय समय ढल्किनै लागेको छ । शुरुमा हामी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रवेश ग¥यौ । यहाँ मन्त्री रेनुकुमारी यादव आउनु भएको छैन । उहाँ नआएपछि कार्यकक्ष र सचिवालय सुनसान हुने नै भयो ।

मन्त्री नै नआएपछि कर्मचारीलाई पनि चटारो हुने कुरै भएन । सचिव, सहसचिव र उपसचिवहरुका कार्यकक्ष पनि सुनसान छन् । उच्च तहका कर्मचारी नै नआएपछि तल्लो तहका कर्मचारीलाई पनि तातो लागेन । कर्मचारी नै नआएकाले होला काम विशेषले आउने र मन्त्री सचिव भेट्न आउनेहरु पनि खासै देखिएनन् ।

उही भवनमा रहेको खानेपानी मन्त्री उमाकान्त चौधरी दिउँसो १२ बजेर ४५ मिनेट जाँदा मन्त्रालय प्रवेश गर्नुभयो । मन्त्री उपस्थित भएपछि फाट्टफुट्ट कर्मचारी पनि देखिए । अन्य शाखा उपशाखा पुरै खाली थिए ।

कृषि मन्त्रालयमा पुग्दा मन्त्री, सचिवहरु, सहसचिव, उपसचिवहरु र शाखा अधिकृतहरुका नेम प्लेटमा पनि बाहिर लेखिएको थियो । यी सँगै सबै मन्त्रालयको हालत यस्तै छ । कुनै पनि मन्त्रालयमा चहल पहल थिएन ।

सिंहदरबार देशकै सबैभन्दा ठूलो प्रशासनिक निकाय हो । हरेक ठूला योजनाहरु यहीबाट बन्छन् । तर दशैं बिदा सकिएर कार्यालय खुल्दा समेत कर्मचारीलाई दशैंले छोड्न सकेको छैन ।

अझ लाजमर्दो कुरो त के छ भने यहाँको तथ्याङ्क तथा अनुसन्धान शाखामा भने ताल्चा मारिएको थियो ।

दशैं मनाउनका लागि सरकारले ५ दिनको सार्वजिनक बिदा दिएको छ । त्यो पाँच दिनको भत्ता पनि सरकारले उपलब्ध गराएको छ । ५ दिनको अवधिमा देशको कुनै पनि भूभागबाट फर्केर कार्यालयमा उपस्थित हुन सकिन्छ । तर त्यो चासो र तत्परता न त मन्त्रीमा देखियो न सरकारी कर्मचारीमा नै । यस्तै हविगत हुने हो भने ५ दिनको सट्टा १० दिन बेतलवी बिदा दिएर कर्मचारी र मन्त्रीलाई घर बिदा दिए हुँदैन र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *