एकीकृत समाजवादीद्वारा ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन
३१ असोज २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । साथै केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुंगो लगाएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी र संगठन संरचना तय गर्नु भएको हो । निर्देशनमा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको उल्लेख छ ।
वरिष्ठ नेताको पद हटाइएको छ । यसअघि वरिष्ठ नेताको रुपमा रहेका झलनाथ खनाललाई सम्मानित नेताको रुपमा राखिएको छ । उहाँलाई विदेश विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ । मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई नेताको हैसियत दिइएको छ ।
न्यौपानेलाई उद्योग, वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्जको जिम्मेवारी दिइएको छ भने नेपाललाई प्रतिष्ठानहरूको इन्चार्ज बनाइएको छ । जीवनराम श्रेष्ठलाई संघीय संसदीय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
एकीकृत समाजवादीबाट संघीय सरकारमा मन्त्री रहेका नेताहरूलाई पार्टीको जिम्मेवारी दिइएको छैन । अहिले संघीय सरकारमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ मन्त्री हुनुहुन्छ ।
केही दिन पहिले एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका भानुभक्त जैसीलाई जलस्रोत, सिँचाई तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।
महासचिव वेदुराम भुसालको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय गठन गरिएको छ भने चार आयोग पनि गठन गरिएको छ ।
त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च र ५२ जना रहेको केन्द्रीय परिषद् पनि गठन गरिएको नेकपा एकीकृतले विज्ञप्ती निकालेर जानकारी दिएको छ ।
प्रतिक्रिया