दशैंप्रति विदेशी कूटनीतिज्ञको यस्तो चासो (भिडियो रिपोर्टसहित)

३० असोज २०७८ काठमाडौं । बडादशैं नेपालीको सबैभन्दा ठूलो चाड हो । बहुसंख्यक हिन्दू धर्मावलम्बीको बसोबास रहेको र हिन्दूहरुले विशेष गरी मनाउने दशैं पर्वलाई पनि पछिल्लो दिनमा विवादित बनाउने प्रयास हुन थालेको छ । तर नेपालमा रहेका या नेपाल बाहिरका कतिपय गैर हिन्दूले समेत दशैंका बेला चाडमा रमाउने मात्र होइन टीका जमरा लगाएर यसलाई सामाजिक सद्भावको पर्वका रुपमा अवलम्बन गरेको पाइएको छ ।
देश संविधानतः धर्म निरपेक्ष भएपछि दशैं र टीकाका विषयमा देशभित्रकै कतिपय अधिकारकर्मी र अभियन्ताले प्रश्न उठाउँदा नेपालसँग जोडिएका गैरधर्मावलम्बी कतिपय विदेशी नागरिक भने टीका र जमराले रंगिएका छन् ।
नेपाल भ्रमणमा रहेका पर्यटक मात्र होइन, कतिपय देशलाई प्रतिनिधित्व गर्ने राजदूतहरुले पनि नेपालीको साझा पहिचान टीका र जमरा लगाएका तस्वीर सामाजिक संजालमार्फत् सार्वजनिक गरेका छन् ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले दशैंको शुभकामनासँगै टीका जमरा लगाएको फोटो पोष्ट गर्नुभएको छ। अमेरिकी राजदूत बेरी नेपाल आएदेखि नै नेपाली कला–संस्कृतिसँग एकाकार भएर बस्नु भएको छ ।
नेपालका ठूला चाडपर्व र दिवसमा उहाँ शुभकामना दिने मात्रै होइन, सक्रियरुपमा भाग लिनुहुन्छ । दसैँको आगमनसँगै जोडेर उडाइने चंगा उडाएर उहाँले दिएको शुभकामनाले पनि धेरैको मन छोएको छ। अमेरिकी दूतावासले ट्विटरमा राखेको तस्वीरमा त बेरी नेपाली ढाकाको टोपीमा नेपाली बाबाझैं देखिनुभएको छ।
नेपालमा मनाइने विभिन्न चाडमा खुसी साट्ने राजदूत बेरीले जस्तै चिनियाँ राजदूत होउ यान्छीले पनि टीका जमरा लगाएको फोटो पोष्ट गर्नुभएको छ। नेपालको छिमेकी चीनकी राजदूत यान्छीले त नेपाली भाषा, संगीत र कलामा समेत चासो राख्दै आउनुभएको छ। यान्छीले दशैंको शुभकामना सन्देशमा नेपाली सहकर्मीहरुसँग दशैं मनाउन पाएकोमा खुशी समेत व्यक्त गर्नुभएको छ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले पनि नेपाली भाषामै दशैंको शुभकामना दिनु भएको छ ।
उनीहरुले दशैंलाई कुनै धर्म विशेषको भन्दा पनि नेपालीको साझा खुसीका रुपमा मनाएको र शुभकामना दिएको सहजै अनुमान गर्न सकिन्छ ।
कतिपय गैरहिन्दू र केही जाति विशेषले समेत दशैंलाई हिन्दूत्व र विभेदसँग तुलना गर्दै गर्दा गैर हिन्दू विशिष्ठ व्यक्तिहरुको पोष्टले सामाजिक संजालमा राम्रै बहस सिर्जना गरेको छ ।
उता नेपाली फूटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दशैं मनाएका तस्वीर त सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन् । नेपाली फुटबलप्रेमीलाई अथाह खुसी दिलाएका प्रशिक्षक अलमुइतारी प्रतिको सद्भाव उहाँको तस्वीरले थप बढेको छ।
उहाँहरु कोही पनि धार्मिक आस्थाका हिसाबले हिन्दू नभएपनि नेपाली परम्परा अनुसार उल्लासपूर्वक दशैं मनाउँदै गर्दा दशैंको सर्वस्वीकार्यता बढेको विश्लेषण गर्दा के हुन्छ ? अब दशैंलगायतका नेपाली चाडका विषयमा अब फरक कोणबाट बहस आरम्भ गर्ने की ?
प्रतिक्रिया