Main News

तास खेल्न कानूनी प्रतिबन्ध रहेको देशका वर्षेनि करोडौंको तास आयात किन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३० गते १६:३६
तास खेल्न कानूनी प्रतिबन्ध रहेको देशका वर्षेनि करोडौंको तास आयात किन ? (भिडियो रिपोर्टसहित)

३० असोज २०७८ काठमाडौं । यो वर्षको दशैंका लागि साढे ५ करोड रुपैयाँ बराबरका ३० लाख बढी प्याकेट तास आयात भएको पाइएको छ । जुवा ऐन २०२० ले जुवातास खेल्नुलाई गैरकानूनी मानेको र कानुनतः जुवातास खेल्न वर्जित गरिए पनि आयातमा कुनै रोकतोक नहुँदा दशैंका लागि ठूलो परिमाणको तास भित्रिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार दशैंका लागि यो वर्ष ३० लाख प्याकेट तास आयात भएको छ । दशैंका लागि भनेर गएका २ महिना साउन र भदौमा मात्रै साढे ५ करोड रुपैयाँ भन्दा धेरैको तास नेपाल भित्रिएको हो । दशैंका लागि तास आयात गर्दा साढे ५ करोड रुपैयाँ बाहिरिएको छ । कोरोना महामारीका कारण व्यापार सहज नभए पनि त्यसले तासको आयातमा भने कुनै असर नगरेको देखिन्छ ।

कोरोना कहरकैबीचमा पोहोर पनि १६ लाख १० हजार प्याकेट तास आयात भएको थियो । पोहोर साउन र भदौमा ३ करोड ४२ लाख रुपैयाँ रकम तासका लागि विदेशिएको थियो । पोहोरको तुलनामा यसपाली दोब्बर बढी तास आयात भएको छ र पोहोर भन्दा २ करोड रुपैयाँ बढी रकम विदेशिएको छ ।

परार साल दशैंमा भने ४ करोड ७३ लाख रुपैयाँ मूल्य बराबरका ३३ लाख ४१ हजार प्याकेट तास आयात भएको थियो ।

दशैँमा तास आयात :
आर्थिक वर्ष २०७८/७९ काे दशैं : ५ कराेड ५१ लाख रुपैयाँ
आर्थिक वर्ष २०७७/७८ काे दशैं : ३ कराेड ४२ लाख रुपैयाँ
आर्थिक वर्ष २०७६/७७ काे दशैं : ४ कराेड ७३ लाख रुपैयाँ
आर्थिक वर्ष २०७५/७६ काे दशैं : ३ कराेड ६ लाख रुपैयाँ

यो दशैंं तिहारका लागि आयात भएको तथ्यांक हो । तर दशैं तिहारमा बढी खेलिने भए पनि तासको आयात वर्षैभरी उस्तै हुने गरेको छ । पछिल्लो चार आर्थिक वर्षमा ९४ करोड ८० लाख रुपैयाँ बराबरको तास आयात भएको छ । नेपालमा छिमेकी देश भारत र चीनबाट मात्र हैन अमेरिका, ब्राजिल लगायतका १२ वटा देशबाट तास आयात भएको भन्सार विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७४–७५ मा १४ करोड ५७ लाख रुपैयाँ मूल्य बराबरको तास भित्रियो । आर्थिक वर्ष २०७५–७६ मा तासको आयात साढे १० करोड रुपैयाँले बढेर २५ करोड ६ लाख रुपैयाँ नाघ्यो । आर्थिक वर्ष २०७६–७७ मा २३ करोड ५४ लाख तास आयात भयो । गत आर्थिक वर्षमा २८ करोड ६२ लाख रुपैयाँको तास आयात भएको छ ।

यसरी देशमा बर्सेनि करोडौँको तास आयात भइरहे पनि कानूनले भने जुव‍ातास खेल्नै रोक लगाएको छ । जुवा ऐन २०२० ले जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी बाजी थापी खेलेको खेल भन्ने सम्झनु पर्दछ भनी व्याख्या गरेको छ ।
तास आयातमा विदेशिने रकम :
आर्थिक वर्ष २०७७/७८ : २८ करोड ६२ लाख
आर्थिक वर्ष २०७६/७७ : २३ करोड ५४ लाख
आर्थिक वर्ष २०७५/७६ : २५ कराेड ६ लाख रुपैयाँ
आर्थिक वर्ष २०७४/७५ : १४ कराेड ५७ लाख रुपैयाँ

त्यसैले तास खेल्नु र खेलाउनुलाई गैरकानुनी मान्दै ऐनले तास खेल्ने खेलाउनेलाई एक वर्षसम्म कैदको व्यवस्था गरेको छ । प्रहरीले पनि बेला बेलामा जुवा र तासका खालमा छापा मारेर जुवाडेलाई पक्रने गर्छ । खेल्ने मात्र हैन खेलाउनेलाई समेत कारबाही हुने गरेको छ ।

मनोरञ्जनका लागि क्यासिनोबाहेक अन्य ठाउँमा तास खेल्न बर्जित गरिए पनि न त सरकारले तास आयातमा कडाई गरेको छ न त खुलेआम विक्री नै रोकेको छ । यसका पछि तासको आयातबाट ‍सरकारले उठाउने राजस्व नै प्रमुख कारण हो ।

पछिल्ला चार वर्षमा मात्रै तासको आयातबाट सरकारले ४५ करोड रुपैयाँ राजस्व उठाएको छ । तासको आयातबाट सरकारले आर्थिक वर्ष २०७४–७५ मा ५ करोड ४८ लाख र आर्थिक वर्ष २०७५–७६ मा ११ करोड २७ लाख उठाएको छ ।
तासबाट संकलित राजस्व :
आर्थिक वर्ष २०७७/७८ : १५ करोड ४८ लाख
आर्थिक वर्ष २०७६/७७ : १२ करोड ८५ लाख
आर्थिक वर्ष २०७५/७६ : ११ करोड २७ लाख
आर्थिक वर्ष २०७४/७५ : ५ करोड ४८ लाख

आर्थिक वर्ष २०७६७७ मा १२ करोड ८५ लाख रुपैयाँ तास आयातबाट राजश्व संकलन गरेको सरकारले गत वर्ष १५ करोड ४८ लाख रुपैयाँ राजश्व उठाएको छ ।

राजस्व संकलन घट्न सक्ने डरमा सरकारले तासको आयातमा कडाई नगरेको हो । तर सरकारको यीनै गलत नीतिले बर्सेनि व्यापार घाटा चुलिँदै गएर वार्षिक बजेटभन्दा बढी हुन थालिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *