बगर पन्छाएर घर बस्ने तयारीमा मनाङको तालगाउँवासी

हिमालय टिभी
२०७८ असोज २४ गते १५:००
बगर पन्छाएर घर बस्ने तयारीमा मनाङको तालगाउँवासी

२४ असोज २०७८ मनाङ । गत असार १ मा आएको मस्र्याङ्दी नदीको बाढीले नासों गाउँपालिका–१ तालगाउँ बगरमा परिणत भएको थियो । अहिले विस्तारै नदीको बहाब घटेसँगै तालवासी त्यही बगर पन्छाएर बाँकी रहेको संरचनामा बस्न थालेका छन् ।

बाढीपहिराका कारण डुबानमा परेको तालगाउँ बस्ती पुनः घर फर्किने तरखरमा पुगेको हो । असार १ पछि मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ पूरै डुबानमा परेको थियो । यसरी तालगाउँवासी पूर्णरूपमा विस्थापित भएर डाँडामा त्रिपालमुनि बस्दै आएका थिए । यतिखेर भने उनीहरु अब बाढी नआउने भन्दै घर बसाउने तयारीसहित बगर पन्छाउन व्यस्त छन् ।

उनीहरु बाढी पसेको बस्तीको घरमा रहेको गेग्रयान (बगर) फालेर बस्न मिल्ने गरी घरको पुनःनिर्माण गर्दैछन् । बाढीले घर नै बगाएका बाहेक परिवार त्रिपालमा नै बस्दै आएका छन् भने घर बाँकी रहेका परिवारले बालुवा, गिट्टी, ढुङ्गाले पुरेको घरको गेग्रयान पन्छाएर बस्ने तयारी गरिरहेका देखिन्छन् ।

यो बस्ती अझै पनि जोखिमपूर्ण भए पनि स्थानान्तरणको लागि उपयुक्त ठाउँ नहुँदा सोही स्थानमा बस्नुपर्ने बाध्यता रहेको गाउँवासी बताउँछन् । स्थानीय मीनराशी गुरुङ भन्नुहुन्छ, “तीन महिनासम्म त्रिपालमा बसियो । नदी घटेपछि घर हुने घरमा अड्किएको गेग्रयान फालेर बस्न थालेका छौँ । नहुनेहरु अझै पनि त्रिपालमा नै बस्न बाध्य छौँ । स्थानीय सरकारबाट केही सहयोग होला नि भन्ने आशा छ ।” उहाँ गेग्रयान फाल्ने सामग्री नहुँदा पनि समस्या भएको बताउनुहुन्छ । आफ्ना सामग्री नदीमा आएको बाढीले बगाइदियो । बाँकी सामग्रीको सहयताबाट बस्ती बसाउने प्रयास गरिरहेको मीनराशी बताउनुहुन्छ ।

त्यस्तै स्थानीयवासी गुरुप्रसाद गुरुङले भन्नुभयो, “घर सबै भत्काएको छ, घरमा आएर बसेका छौँ, स्थानीय सरकारले व्यवस्थित गरी बस्न सहज गराइदिए हुनेथियो भन्ने आशा छ । कोही आफन्तकोमा बस्दै आएको र सकेका व्यक्ति अझैपनि बाहिर नै बस्दै आएका छन् ।”

तीन महिना बढी हुँदासम्म पनि घरबारको अत्तोपत्तो नहुँदा धेरै चिन्तित बनाउने गरेको उहाँ बताउनुहुन्छ । अझै घर समेत बाँकी नरहेका परिवारको बसोबासका लागि कुनै आधार नै नभएको उहाँको भनाइ छ । बस्ती बस्नका लागि अहिले घर बाँकी रहेकाले गेग्रायान फाल्ने काम पाएको गुरुङले बताउनुभयो ।

बाढीले तालगाउँवासीलाई बेतालको बनाइदिएको उहाँ बताउनुहुन्छ । भन्नेबित्तिकै न त घर नै अर्को ठाउँमा बनाउन सकिने रहेको छ । न पुरानो घरमा व्यवस्थित तरिकाले बस्न सक्ने अवस्थामा पु-याएको उहाँको भनाइ छ । मौसमा परिवर्तनका कुरा गर्ने आफूहरुले सुन्ने गरेको भन्दै अझै पनि त्रास बढ्ने गरेको उहाँले बताउनुभयो ।

नेपालीका ठूला चाडपर्व नजिकिँदै गर्दा सबैतिर खुसीयाली छाएको भए पनि मनाङका बाढी प्रभावित ठाउँ अझैसम्म पनि दुःखमा छन् । बल्लतल्ल तीन महिनापछि मनाङ सडक सञ्जालसँग जोडिएर आवतजावतमा सहज भएको छ तर स्थानीयवासीमा भने अझै खुसी पुग्न सकेको छैन ।

अन्यत्र बस्ने व्यवस्था गर्न नसक्दा गाउँवासी पुरानै ठाउँमा बस्न थालेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । “व्यवस्थापनका लागि पहल भइरहेको छ । तत्काल भने कठिन अवस्थामा नै रहेका छौँ । यसले गर्दा ढिला भएको हो । जाडो बढ्दै गएपछि नदीको सतह घट्दै गएकाले पनि बस्तीतर्फ स्थानीयवासी फर्किएका हुन्,” अध्यक्ष घलेले भन्नुभयो ।

विभिन्न क्षेत्रसँग ताल गाउँवासीको व्यवस्थापनका सम्बन्धमा छलफल भने भइरहेको उहाँ बताउनुहुन्छ । पालिकाले मात्रै व्यवस्थापन गर्न कठिन भएकाले पनि ढिलाइ र समस्या रहेको उहाँले बताउनुभयो । उक्त क्षेत्रको बस्तीलाई सुरक्षित र व्यवस्थित राख्नका लागि त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गर्न जरुरी देखिन्छ ।

जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्ण रुपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको हो । नासोंका धेरै भाग डुबान र पहिराका कारण भौतिक संरचना पूर्ण क्षति पुगेको छ । तीन महिनादेखि मनाङवासीलाई त्रिपालको बास अन्य उपाय पहिचान गर्न सकेका छैनन् । यस वर्ष मस्र्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको छ । यसवर्षको मनसुन सुरु हुनासाथ हिमाली जिल्ला मनाङ दैवी प्रकोपमा परेको थियो ।

टेण्टमै पठनपाठन
जिल्लाका सुन्दर बस्तीमध्ये एक हो तालगाउँ । यहाँको भानु माध्यमिक विद्यालयमा पनि बाढीले क्षति पुयायो । गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन । गाउँबासी जङ्गलमा स्थानान्तरण भए । विद्यालयको भौतिक संरचना केही मात्र देखिन्छ । अझै पनि बस्तीमा बाढीको जोखिम उत्तिकै छ । पहिलेको बस्तीमा पूरै गाउँबासी बस्नसक्ने अवस्थामा छैनन् । त्यस्तै विद्यालयमा पठनपाठन गर्न सक्ने अवस्था पनि छैन ।

यहाँका बालबालिकाको भविष्य जनप्रतिनिधिहरुमाथि छ । जनप्रतिनिधिको सक्रियतामा बाढी पीडित बालबालिकाको पठनपाठनको व्यवस्था गरिएको छ । यहाँ टेण्टमा नै पठनपाठन गर्ने व्यवस्था गरेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिनुभयो ।

उहाँले टेण्टमा भए पनि पठनपाठनको व्यवस्था गरिएको छ । “प्रकृतिले बालबालिकाको भविष्यमा पनि क्षति पु-याएको छ । भविष्य निर्माणका लागि टेण्टमा नै पढ्ने व्यवस्था गरिएको छ । पठनपाठन सुरु भइसकेको छ”, अध्यक्ष घलेले भन्नुभयो ।

सडक सञ्जाल जोडियो
मनाङको मेरुदण्डको रुपमा रहेको बेसीशहर–चामे सडकखण्ड सञ्चालनमा आएको छ । लमजुङको बेँसीसहरदेखि मनाङको नासों गाउँपालिकाको सञ्चालनमा आएको छ । सडक कार्यालयले दसैँसम्म सडक सञ्चालन गर्ने लक्ष्य पूरा गरेको छ । माथिल्लो मनाङ र तल्लो मनाङ जोड्ने सडकअन्तर्गत तलेखु–भ्राताङ भिरमा सडक निर्माणाधीन अवस्था रहेको छ । उक्त सडक निर्माण भएपछि खाङ्सारसम्म सडक सञ्चालन हुनेछ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा पनि सवारी सञ्चालन भएको छ ।

सडक कार्यालयका अच्युत विलास पन्तले लक्ष्यअनुसारको काम पुरा भएको बताउनुभयो । उहाँले सदरमुकाम चामेसम्म नेपालीहरुको महान पर्व दशैं अगावै सडक सञ्चालन योजना अनुरुप काम भएको बताउनुभयो ।

केही स्थानमा मर्मत तथा सम्भार र निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । माथिल्लो मनाङ जाने सडक अन्तर्गतको तलेखु–भ्राताङ भिरमा बम ब्लाष्टिङ गर्नुका साथै सामग्री ल्याउन समेत सहज भएको उहाँले बताउनुभयो । बेसीशहर–चामे सडक खण्डको एक सय सात किलोमिटरमध्ये आधा भन्दा बढी भाग निर्माण भइसकेको उहाँले बताउनुभयो ।

राहत ल्याउन सहज
बाढीपहिरा प्रभावित हिमाली जिल्ला मनाङमा खाद्यान्न पु-याउन सडक सञ्जाल जोडिएपछि सहज भएको छ । विगतमा सडक सञ्जालको अवरुद्ध हुँदा खाद्यान्न पु-याउन हेलिकप्टरको मात्रै प्रयोग हुने गर्दथ्यो ।

सडक अवरुद्ध हुँदा खाद्यान्न ल्याउन समेत हेलिकप्टर बाहेक अन्य मार्गको प्रयोग गर्न सक्ने अवस्था थिएन । तर, सडक सञ्जाल सुचारु भएपछि दशैंको लागि र पर्यटक भित्र्याउन आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्री ढुवानीमा सहज भएको स्थानीयको भनाइ छ ।

सदरमुकामसम्म सामग्री ढुवानी सहज भएको छ । सदरमुकामसम्म ल्याइएको सामग्री खच्चडको माध्यमबाट गाउँ गाउँमा पु-याउन सहज भएको प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । केही स्थानमा सामग्री पु-याउन मानिस र गाउँमा मात्रै पनि सवारी सञ्चालन भएका छन् सोही अनुरुप सामग्री पु-याउन सकिने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

जिल्लाका भौतिक एवं सामाजिक भवन तथा निर्माणका सामग्री ल्याउन समेत सजिलो हुने भएको प्रजिअ आचार्यले बताउनुभयो । “अहिले यहाँ उत्पादन भएका वस्तु बजारसम्म पु-याउन सहज भएको छ । बजारबाट ल्याउनुपर्ने स्वास्थ्य, खाद्यान्न, अत्यावश्यक सामग्री ढुवानी गर्न सहज भएको छ,” आचार्यले भन्नुभयो ।

सडक सञ्जालले जोडिएपछि जिल्लावासीमा आशाको दियो बलेको उहाँ बताउनुहुन्छ । निराशामा पुगेका मनाङवासीलाई सडकले सामान ढुवानीमा सहयोग पुगेको उहाँले बताउनुभयो । सडक सञ्जालले जोडिएपछि बाढीपहिराले क्षति पु-याएका भौतिक संरचना निर्माणका कार्यहरुमा समेत टेवा पुग्नेछ । पुनर्निर्माणका सामग्री ढुवानी हुने भएपछि निर्माणको काम पनि छिटो हुने र पुरानै अवस्थामा पनि छिट्टै पुग्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *