Main News

गठन भएको ८८ दिनपछि बल्ला देउवा नेतृत्वको सरकारले पायो पूर्णता

हिमालय टिभी
२०७८ असोज २२ गते १६:३७
गठन भएको ८८ दिनपछि बल्ला देउवा नेतृत्वको सरकारले पायो पूर्णता

२२ असोज २०७८ काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

आज थप १७ जना मन्त्री र २ राज्यमन्त्री नियुक्त गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो । साथै केही मन्त्री र राज्यमन्त्री हेरफेर गरिएको छ ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री नियुक्ति, हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद गठन गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कांग्रेसबाट डा. मीनेन्द्र रिजाल रक्षा, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, उमा रेग्मी महिला बालबालिका तथा ज्येष्ठ नागरिक र उमाकान्त चौधरी खानेपानी मन्त्री नियुक्त हुनुभएको छ ।

यसअघि कानूनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सारिएको छ । कांग्रेसबाट बालकृष्ण खाँडलाई गृह, र नारायण खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी यसअघि दिइएको थियो ।

यस्तै, माओवादी केन्दको तर्फबाट देवेन्द्र पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि, प्रेमबहादुर आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, महेश्वरजंग गहतराजलाई युवा तथा खेलकूद र शशी श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादीबाट यसअघि नै जनार्दन शर्मा अर्थ र पम्फा भुषाल ऊर्जामन्त्री बन्नुभएको छ ।

जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकास र रामसहाय प्रसाद यादव वन तथा वातावरणमन्त्री नियुक्त हुनु भएको छ।

नेकपा (एकीकृत समाजवादी) पार्टीबाट विरोध खतिवडालाई स्वास्थ्य मन्त्रालय, रामकुमारी झाक्रीलाई सहरी विकास र कृष्णकुमार श्रेष्ठलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त गरिएको छ ।

यस्तै यसअघि कांग्रेसका तर्फबाट स्वास्थ्य राज्यमन्त्री रहनुभएका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्रीकै हैसियतमा लगिएको छ ।

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी एकीकृत समाजवादीका भवानीप्रसाद खापुङलाई दिइएको छ । यस्तै, माओवादी केन्द्रकी बोधकुमारी यादवलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनाइएको छ ।

योसँगै २२ मन्त्री र ३ राज्यमन्त्रीसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । आज नियुक्त्र तथा हेरफेर भएका मन्त्रीहरुले आजै शसपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *