विदेश

अफ्रिकामा बालबालिकालाई मलेरियाविरुद्धको खोप लगाइँदै

हिमालय टिभी
२०७८ असोज २१ गते ८:२९
अफ्रिकामा बालबालिकालाई मलेरियाविरुद्धको खोप लगाइँदै

२१ असोज २०७८ अफ्रिकां । अफ्रिकामा बालबालिकालाई घातक रोग मलेरियाविरुद्धको खोप लगाइँदैछ ।

शताब्दी लामो प्रयासपछि अधिकांश अफ्रिकाका बालबालिकालाई खोप लगाउन ऐतिहासिक अनुमति प्रदान गरिएको छ । मलेरिया सयौं वर्ष अघिदेखि नै मानवका लागि सबैभन्दा ठूलो संकटको रुपमा रहेको छ ।

यसबाट सबैभन्दा बढी बालबालिका र शिशुको मृत्यु हुने गरेको छ । चिकित्सा क्षेत्रकै ठूलामध्येको उपलब्धि मानिएको यसको खोप विकासलाई मलेरियाविरुद्ध लड्ने ऐतिहासिक अभियानमा ठूलो फड्को ठानिएको छ ।

आरटीएस, एस नामक खोप ६ वर्षअघि प्रभावकारी भएको प्रमाणित भएको थियो । प्रभावकारी रूपमा काम गर्न यसको चारवटा मात्रा लगाउनुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनले घाना, केन्या र मलावीमा वृहत खोप कार्यक्रमको सफलतापछि अब सहारा अफ्रिका र मध्यमदेखि उच्च प्रकोप भएका अन्य क्षेत्रमा शुरु गर्न लागेको हो ।

तीन देशमा आठ लाख बालबालिकामा गरिएको मानव परीक्षणमा खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले कमी ल्याएको देखाएको थियो ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेब्रेयससले यसलाई एक ऐतिहासिक क्षण भएको बताएका छन् । अहिलेसम्म मलेरिया गराउने परजीवीलाई मार्ने विषादी र झुल प्रयोग गर्नु नै यसबाट उपायका रुपमा रहेका थिए ।

अफ्रिकामा सन् २ हजार १९ मा मलेरियाबाट २ लाख ६० हजार भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *