राजनीति

अख्तियारको छापामा विरोध गरेर जग हँसाईमा जसपा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १९ गते २०:४५
अख्तियारको छापामा विरोध गरेर जग हँसाईमा जसपा (भिडियो रिपोर्टसहित)

१९ असोज २०७८ काठमाडौं । भ्रष्टाचार नियन्त्रण तथा आर्थिक सुशासन कायम गर्न भन्दै जनलोकपाल आयोग गठन गरेको प्रदेश २ सरकार आफैं भ्रष्टाचार मुद्दामा मुछिएको छ ।

गत भदौ २२ मा जनलोकपाल गठन गरेको प्रदेश २ का सरकार प्रमुख लालबाबु राउतको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत बुधबार छापा मारेको हो ।

जनलोकपाल गठन गरेको सरकार आफैलाई भ्रष्टाचारको आरोप लागेपछि नैतिकताका आधारमा पदबाट राजिनामा दिनुको साटो मुख्यमन्त्री र उहाँको दल जनता समाजवादी पार्टीले अख्तियारविरुद्ध आन्दोलन घोषणा गरेर जग हँसाइ गरेको छ।

नेपालमा पहिलोपटक प्रदेश २ सरकारले जनलोकपाल अभ्यासमा ल्याएको हो । जनलोकपालको गठनसँगै प्रदेशमा आर्थिक अनियमिततामा संलग्न राजनीतिकर्मी, कर्मचारी लगायत कोही पनि उम्कन नसक्ने दाबी मुख्यमन्त्री स्वयंले गर्नुभएको थियो ।

तर साइकल खरिदमा भएको भनिएको अनियमितताको छानबिनका लागि पुगेको टोलीलाई समन्वय गर्नुको साटो मुख्यमन्त्री र केन्द्रीय राजनीतिमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको जसपा नै अख्तियारविरुद्ध खरो रुपमा उत्रिएपछि आशंकालाई मलजल गरेको छ ।

जसपाले प्रदेश २ का सबै जिल्लामा विरोधका कार्यक्रम नै गरेको छ । उसले राजनीतिक उद्देश्यले कुनै एक समूह वा दलको इशारामा अख्तियार मुख्यमन्त्री र प्रदेश २ विरुद्ध उत्रिएको आरोप लगाएको छ । यसले राजनीतिक दल तथा तिनका नेतामा गुम्दै गएको नैतिकतालाई उजागर गरेको छ ।

हुन त छोरी शिक्षालाई बढावा दिन भन्दै सञ्चालन गरिएको मुख्यमन्त्री बेटी पठाउ बेटी बचाउ अभियानकै नाममा आर्थिक अनियमितता गर्न खोज्नु आफैमा नैतिकहीन छ। भलै प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्धको आरोप पुष्टि भइसकेको छैन, छानविनकै क्रममा छ । तर प्रदेशमा सुशासन कायम राख्न प्रयत्न गरिरहेको दाबी गर्ने मुख्यमन्त्रीले छानबिनकै क्रममा रहेको विषयलाई जथाभावी उछाल्न खोज्नु चाही शंकास्पद छ ।

प्रदेश २ का मन्त्रीहरु पनि आर्थिक अनियमितता र अख्तियारको कदमबारे मौन छन् । सत्ता साझेदार दल पनि यसबारे बोलेका छैनन् । जसले गर्दा मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालयविरुद्धको आरोपमा बल पुगेको छ । जसपाबाट अलग भएर बनेको, मधेशको मसिहा भएको दाबी गर्ने लोकतान्त्रिक समाजवादी पार्टीले साइकल खरिदका विषयमा मुख्यमन्त्री मुछिएपछि राजीनामा माग्दै प्रदेशसभा अवरुद्ध गर्ने घोषणा गरेको छ।

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान शुरु हुँदा सत्तामै रहेको लोसपाले मात्र होइन कुनै समय देश टुक्राउने अभिव्यक्ति दिएका कारण पटकपटक जेलसजाय भोगेर पछि शान्तिपूर्ण राजनीतिमा आएको सिके राउत नेतृत्वको जनमत पार्टी नेपाल अख्तियारको समर्थनमा खुलेर आएको छ । स्थानीय र प्रदेश सरकारमा भ्रष्टाचार मौलाएको भन्दै विरोधमा जनमत पार्टीका नेता कार्यकर्ताले सोमबार जनकपुरमा प्रदर्शन नै गरे । उनीहरुले जनकपुरधाम उपमहानगरपालिकामा तालाबन्दी समेत गरे । जनमत पार्टीले प्रदेश २ को मुख्यमन्त्री कार्यालयको समेत घेराउ गरी भ्रष्टाचारीहरुमाथि कारवाहीको माग गरेको छ ।

बेटी पढाउ बेटी बचाउ अभियानका लागि पटकपटक गरी ४१ हजार २ सय ६२ साइकल खरिद गर्दा ११ करोड बढी हिनामिना भएको आशंकामा उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो । पछिल्लो पटक ०७७ चैतमा मुख्यमन्त्री कार्यालयले सार्वजनिक खरिद ऐनविपरीत उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड नै उल्लेख नभएका साइकल खरिद गरेपछि प्रकरण सतहमा आएको हो । अब हेर्नु छ, नैतिकताको पाठ पढाएर नथाक्ने मुख्यमन्त्री, उहाँको दल जसपा संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईलगायतले नैतिक धरातल नै गुमाएरै अझै अख्तियारका विरुद्धमा विषवमन गरिरहनुहुनेछ, या राजीनामा दिएर छानबिनलाई सहजीकरण गर्नुहुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्