३३ किलो सुन प्रकरणमा गोरेसहित छ जनालाई जन्मकैदको फैसला

१९ असोज २०७८ मोरङ । मोरङ जिल्ला अदालतले सनम शाक्य हत्या अभियोगमा गोरे भनेर चिनिने चुडामणि उप्रेतीसहित छ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
न्यायाधीश भरत लम्सालको इजलासले सुन तस्करी तथा मोरङका सनम शाक्य हत्या प्रकरणमा कर्तव्य ज्यान र अपहरण तथा शरीर बन्धकको अभियोग लागेका गोरेसहित ८ जनालाई दोषी ठहर गरेको हो ।
जसमध्ये गोरेसहित ६ जनाले कर्तब्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका हुन्। अदालतले गोरेविरुद्ध अपहरण तथा शरीर बन्धकको अभियोग पनि पुष्टि हुने ठहर गरेको छ।
गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको सजाय तोकिएको छ। यस्तै, राजन कुमारलाई ३ वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ।
साढे ३३ किलोसहितको ३८ सय किलो सुन तस्करीको मुद्दाका सबै अभियुक्तले भने सफाइ पाएका छन्। सुन तस्करीको अभियोग पुष्टि हुने आधार नदेखिएको भन्दै सबैले सफाइ पाउने फैसला सुनाएको हो। ४८ जनाले सफाइ पाएका हुन ।
२०७४ साल फागुन १८ गते मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएपछि सुरु भएको अनुसन्धानले हत्या घटनामा सुन तस्करी गर्ने गिरोहको संलग्नता देखिएको खुलेको थियो।
अनुसन्धानको क्रममा २०७४ माघमा हवाई मार्ग हुँदै विदेशबाट नेपाल भित्रिएको साढे ३३ किलो सुन हराएको भन्दै तस्करको समूहले सनमलाई यातना दिएर मारेको खुलेको थियो।
सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २१ जना अझै फरार छन्। प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जनामध्ये अधिकांश धरौटीमा छुटेका छन्।
प्रतिक्रिया