राष्ट्रियसभामा एमालेको अवरोधका बीच चार विधेयक अघि बढाइयो

Himalaya Television
२०७८ असोज १८ गते १३:१७

राष्ट्रियसभामा एमालेको अवरोधका बीच चार विधेयक अघि बढाइयो

१८ असोज २०७८ काठमाडौं । राष्ट्रिय सभाले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बिच चारवटा विधेयक दफावार छलफलका लागि समितिमा पठाएको छ ।

राष्ट्रिय सभाको आज बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विरोध गरेको छ । नेकपा एमालेको विरोधका बीच बैठकले सरकारले पेश गरेको चारवटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नुभएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । बैठकमा महालेखापरीक्षकको अन्ठाउन्नौँ वार्षिक प्रतिवेदन २०७८ पनि टबल भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले राष्ट्रिय सभाको बैठकमा निरन्तर विरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम रोकिएको छैन । एमालेले कारबाही गरेका १४ जना सांसदहरुको निस्काशनको सूचना सभामुखले नटाँसेका कारण सभामुखको विरोधमा एमाले आन्दोलित छ ।

प्रतिनिधि सभामा नेकपा एमालेका सांसदहरुले नाराबाजीसहित वेल घेराउ गर्छन् भने राष्ट्रिय सभाको बैठकमा आफू बसेको स्थानमा उभिएर विरोध जनाउने गरेका छन् ।

आजको बैठकमा राष्ट्रिय सभा सदस्य पार्वती रावलले सरकार गैरकानूनी रुपमा चलेको, प्रमुख प्रतिपक्षी दलसँग संवाद गर्न नचाहेको तथा सभामुखको व्यवहार गैरसंवैधानिक र दलीय स्वार्थ केन्द्रीत भएका कारण एमालेको विरोध जारी रहने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकार श्रमजिवीको पक्षमा होइन पूँजीपतिहरुको कालो धनवालाहरुको संरक्षणमा लागिरहेको छ । संसदको ठुलो दल प्रमुख प्रतिपक्षी दलसँग सरकार छलफल गर्न चाहँदैन । सरकार गैरकानूनी ढंगबाट अगाडी बढेको छ । अध्यादेशबाट शासन सञ्चालन गर्दैछ । सभामुखको व्यवहार गैरसंवैधानिक, दलीय स्वार्थ केन्द्रीत देखिन्छ । एउटै अवस्था र घटनामा फरकफरक व्यवहार सभामुखबाट भएको छ । यस्तो फरक र गलत व्यवहार नसच्चिएसम्म हाम्रो विरोध जारी रहेको कुरा पनि म जानकारी गराउँछु । यही अवस्थामा हाम्रो दलको विरोध जारी रहेको कुरा म जानकारी गराउन चाहान्छु ।’

यस्तै बैठकमा बोल्दै सांसद डा. खिमलाल देवकोटाले एक महिनादेखि संसदमा एमालेको अवरोधका कारण बोल्न नपाएको भन्दै सांसदहरुको मानव अधिकार हनन् भएको बताउनुभयो । सभामुखप्रति अपमानजनक र आपत्तिजनक शब्दहरु प्रयोग हुने गरेको भन्दै उहाँले नियमापत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो – ‘झन्डै एक महिना भयो अधिवेशन शुरु भएको । यतिका दिनदेखि हाम्रो मुख थुनिएको छ । बोल्न दिइएको छैन । सांसदको मानव अधिकार हनन् भएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामा आँच पुर्‍याउने काम भयो । यसमा खेद छ । प्राय सबै बैठकहरुमा विपक्षी दलका मान्यज्यूहरुबाट प्रतिनिधि सभाका सम्माननीय सभामुखप्रति अपमानजनक र आपत्तिजनक शब्दहरु प्रयोग भएका छन् । म प्रतिनिधि सभा र राष्ट्रिय सभा नियमावली २०७५ को नियम २६ अनुसार नियमापत्ति गर्दछु ।’

सांसद देवकोटाले अदालतमा विचाराधिन विषयमा बहस गर्न नपाउने र सभामुखको निर्णयमा प्रवेश गर्न नपाउने संवैधानिक र कानूनी व्यवस्था हुँदाहुँदै संविधान र कानूनको अपमान हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभामा कार्यहरु भइरहेको भन्दै त्यसको भर्त्सना गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक असोज २४ गते आइतवार दिउँसो २ बजे बस्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs