Main News

विधान महाधिवेशनमार्फत एमालेले दिन खोजेको सन्देश के हो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १५ गते २१:०८
विधान महाधिवेशनमार्फत एमालेले दिन खोजेको सन्देश के हो ? (भिडियो रिपोर्टसहित)

१५ असोज २०७८ काठमाडौं । एमालेले विधान महाधिवेशनलाई पार्टीको आन्तरिक कामको रुपमा चित्रण गरे पनि यसले विभिन्न सन्देश दिने कोशिश गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेका बेला एमालेले ठूलो संख्यामा देशभरका नेता कार्यकर्तालाई एकै ठाउँमा उतारेर दिन खोजेको सन्देश के के हुन त ?

एकताको सन्देश
एमालेले विधान महाधिवेशनलाई पार्टीलाई एउटै दृष्टिकोण र एउटै लयमा हिँडाउने अभियान भनेको छ । महाधिवेशन देशभरका अगुवा कार्यकर्ताहरूको भेला पनि भएकाले पार्टीका चुनौति पहिचान र समाधान खोज्ने विषयमा पनि छलफल गर्ने छ ।

नेकपा हुँदादेखि माधवकुमार नेपाललगायतको समूहले अलग्गै पार्टी गठन गरिसक्दा पनि एमालेमा विवादहरु मिल्नुको सट्टा बढ्दै आएका छन् । विभाजनअघि नेपाललाई साथ दिएका ९ नेताहरुको असन्तुष्टिदेखि उपमहासचिव घनश्याम भुसालका तीन बुँदे फरक मत पनि छँदैछन ।

यी सबै विवादबीच एमालेले विधान महाधिवेशनबाट एकताको सन्देश दिने योजना बनाएको छ । भलै विवादहरु पार्टीको महाधिवेशनसम्मै पुग्ने किन नहोस् ।

विभाजनको क्षति लुकाउने
नेपाल–खनाल समूह र अध्यक्ष ओलीबीचको इगोले एमाले फुटेको छ । सत्तामा रहेको एमाले सडकमा पुगेको छ । र पनि ओलीसहितका एमाले नेताहरुले माधवकुमार नेपाल समूहले फरक पार्टी गठन गरेपछि कुनै क्षति नभएको बताउँदै आउनुभएको छ ।

भदौ ९ गते नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि एमालेले सबै जिल्लामा कार्यकर्ता भेलाको आयोजना गरेर नेपालले पार्टी छाड्दा कुनै क्षति भएको छैन भनेर कार्यकर्तालाई आश्वस्त पार्ने प्रयास गरिरहेकै थियो । जिल्ला भेला सकेर एमालेले विभाजनपछि केन्द्रमा ठूलो कार्यक्रम गरेर नेता(कार्यकर्तालाई कुनै क्षति भएको छैन भन्ने सन्देश दिन खोजेको छ ।

आगामी चुनावको तयारी
एमालेले स्वीकार गरे पनि नगरे पनि माधवकुमार नेपालले पार्टी गठन गरेपछि त्यसको असर एमालेलाई परेकै छ । नेपालले पार्टी गठन गरेपछि स्थानीयदेखि प्रदेश र संघीय चुनावसम्म एमालेलाई असर गर्ने देखिन्छ ।

आगामी फागुनबाट स्थानीय निर्वाचन हुँदै मंसिरसम्म प्रदेश तथा संघीय प्रतिनिधिसभाको कार्यकाल सकिँदैछ । अर्ली इलेक्सनको रटान लगाइरहेको एमालेलाई नियमित चुनाव हुँदा पनि १४ महिनापछि चुनावमा जानु नै छ । त्यसैले एमालेले विधान महाधिवेशनलाई पनि चुनावको तयारीको रुपमा लिएको छ ।

कांग्रेस नेतृत्वको गठबन्धन कमजोर पार्नु
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन बनेपछि एमाले अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बाहिरिनु पर्‍यो । माओवादीसँग एकता कायम रहेको बेला ४ जना मुख्यमन्त्री पाएको एमाले अहिले दुई जना मुख्य मन्त्रीमा खुम्चिएको छ ।

सत्तारुढ गठबन्धन कायम रहे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशबाट अष्टलक्ष्मी शाक्य बाहिरिनु पर्ने निश्चित जस्तै देखिन्छ । अहिलेको गठबन्धनका कतिपय दल र नेताहरुले यो गठबन्धन कम्तिमा पनि आगामी निर्वाचनसम्म कायम रहने भनेका छन । यसले एमालेलाई जसरी पनि अहिलेको गठबन्धन भत्काउनु र आफू बलियो हुनु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *