राजनीति

एमाले विधान महाधिवेशनमा देखिए यस्ता केही रोचक दृश्यहरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १५ गते २०:४५
एमाले विधान महाधिवेशनमा देखिए यस्ता केही रोचक दृश्यहरु (भिडियो रिपोर्टसहित)

१५ असोज २०७८ काठमाडौं । एमालेको विधान महाधिवेशनमा ललितपुरका गोदावरीमा शुरु भएको छ । महाधिवेशनमा केही रोचक दृश्य पनि देखिए । तिनैमध्येका केही रोचक प्रसंग र दृश्य हामीले यहाँ समेटेका छौ ।

पुष्पलाल, मदन र मनमोहनको तस्वीरविहीन मुख्यमञ्च
एमालेले केन्द्रमा मात्र हैन वडामा कार्यक्रम गर्दा पनि मुख्य मञ्चमा पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीका तस्वीरलाई प्राथमिकता दिने गरेको थियो । विगतका महाधिवेशनमा यी पूराना कम्युनिष्ट नेताहरुका तस्वीरले मुख्यमञ्चमा नै स्थान पाउँथे । तर यो पटकको महाधिवेशनमा त्यस्तो भएन । मुख्य मञ्चमा यी नेताको तस्वीर राखिएन । मुख्य मञ्चको बिचमा चुनाव चिह्न सूर्य छ भने दायाँ–बायाँ नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

हलभित्र ‘जनताको बहुदलीय जनवाद’ लेखिएको अर्को एक ब्यानर राखिएको छ । र त्यो ब्यानरको बायाँतर्फको कुनामा भने पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर छ ।

उपत्यकाका खम्बाखम्बामा ओली
महाधिवेशनस्थल गोदावरीमा मात्र हैन, काठमाडौं उपत्यकाकाभित्रका बिजुलीका खम्बाखम्बामा ओलीका तस्वीर झुन्ड्याएर एमालेले उपत्यकालाई नै महाधिवेशनमय बनाएको छ । महाधिवेशन स्थलमा अभिवादन गरिएका ओलीका ठूलाठूला तस्वीर राखिएको थियो । यी तस्वीरमा सेल्फी लिन र फोटो खिच्न एमाले कार्यकर्ताको भीड नै देखिन्थ्यो । महाधिवेशनस्थलमा बाँडिएका पानीका बोतलमा पनि ओलीको तस्वीर अंकित थियो ।

मुख्यमञ्चमा एक्ली महिला
महाधिवेशनस्थलको मुख्य मञ्चका आरामदायी सोफामा पार्टीका पदाधिकारीहरुलाई बस्ने व्यवस्था गरिएको थियो । तर त्यो मञ्चमा बस्नेमा महिला भने एक जना अष्टलक्ष्मी शाक्य मात्र हुनुभयो । एमाले उपाध्यक्ष तथा बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य भने महाधिवेशस्थल रंगिएको रातो रंगकै पोशाकमा हुनुहुन्थ्यो । अन्तिममा माधवकुमार नेपालको साथ छाडेर शाक्य एमालेमा नबसेको भए त यो मञ्च महिलाविहीन पो हुने रहेछ भनेर सहभागीहरुले कानेखुसी गरेको समेत सुनियो ।

शंकरजीको खोजी
एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा खोकीका कारण अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पूरा पाठ गर्न सक्नुभएन । सम्बोधन भाषणकै क्रममा असजिलो महशुस गरेपछि उहाँले भाषण रोकेर शंकर पोखरेलको खोजी गर्नुभयो ।

त्यसपछि ओलीले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै पोखरेललाई आफ्नो लिखित भाषण पूरा गर्ने जिम्मेवारी सुम्पनुभयो । र पोखरेलले ओलीको राजनीतिक प्रतिवेदनसमेत पेश गर्नुभयो ।

सहभागीको भिडियोग्राफी मोह
महाधिवेशनको टेलिभिजन र अनलाइनहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । तर पनि सहभागीहरुलाई त्यसले चित्त बुझेको थिएन । त्यसैले उनीहरुले अध्यक्षले बोल्दा होस वा अरुले नै बोल्दा किन नहोस फेसबुकमा प्रत्यक्ष प्रशारण गरे । मोबाइललले भिडियो खिचे । यतिसम्म की केही सहभागीले राष्ट्रिय गान बज्दा पनि भिडियो खिच्ने मोबाइल बिसाउन चाहेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्