Main News

एमालेको विधान महाधिवेशन भोलि गोदावरीमा शुरु हुँदै, यस्तो छ तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १४ गते २१:०७
एमालेको विधान महाधिवेशन भोलि गोदावरीमा शुरु हुँदै, यस्तो छ तयारी (भिडियो रिपोर्टसहित)

१४ असोज २०७८ काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीमा शुरु हुँदै छ ।

त्यसका लागि एमालेले सबै तयारी पूरा भइसकेको जनाएको छ । विधान महाधिवेशनका लागि ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा गरिनेछ । सम्मेलन केन्द्रमा महाधिवेशनका लागि आवश्यक तयारी धमाधम भइरहेको छ ।

अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले हतार हतार उद्घाटन गरेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रलाई नै एमालेले महाधिवेशन स्थलका रुपमा रोजेको छ । ओलीले आफू प्रधानमन्त्री रहेकै बेला गत वैशाखमा केन्द्रको बाहिरी साजसज्जा र केही काम बाँकी छदै यो सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको थियो । अहिले यही सम्मेलनमा केन्द्रमा विधान महाधिवेशनका लागि धमाधम तयारी भइरहेको छ ।

३ हजार सिट क्षमताको भए पनि महािधवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने छन् । जसमध्येका ३ हजार जना मुल हलमा बस्ने छन् । बाँकी ३ हजारका लागि बस्न दाया बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने ठाउँ बनाइएको छ ।

६ हजार प्रतिनिधि सहभागी हुने अधिवेशनका लागि हलमा रहेका कुर्सीहरुमा रातो कभर लगाइएको छ । हलमा प्रतिनिधिहरुका लागि सिट प्लानिङ गरिएको छ । सनराइज कम्प्लेक्सको मुूल हलमा ३ हजार प्रतिनिधि रहने व्यवस्थापन समितिले जनाएको छ । सहभागीहरुलाई सम्मेलन केन्द्रमा नै खाना र खाजाको व्यवस्था गरिएको छ । जिल्ला सम्पर्क मञ्चहरुको समन्वयमा प्रतिनिधिहरुको बसोबासको व्यवस्था मिलाइएको छ ।

केन्द्रमा राखिएको मिडिया सेन्टरबाट लाइभ हेर्नसक्ने व्यवस्था एमालेले गरेको छ भने दैनिक पत्रकार सम्मेलनको व्यवस्था गरिएको छ । महाधिवेशन सफल बनाउन भन्दै २ सय स्वयमसेवक खटाउने तयारी व्यवस्थापन समितिले गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मास्क, सेनिटाइजर लगायतको व्यवस्था गरेको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनको शुक्रबार अध्यक्ष ओलीले उद्घाटन गर्नुहुनेछ । उद्घाटनसत्रपछि शुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव बिष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *